तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन आयोग चौबीसै घण्टा क्रियाशील [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
1.1k
Shares
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते तोकिएको मितिमै निर्वाचन गराउन आयोग चौबीसै घण्टा क्रियाशील रहेको बताएका छन्। उनले शुक्रवार निर्वाचन आयोगको कार्यालयमा भेट्न पुगेका 'जेन-जी' अभियन्ताहरू सँगको छलफलमा यस्तो जानकारी गराएका हुन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरू, नागरिक अगुवा, बुद्धिजीवी, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यमबाट छलफल गरिरहेको दाबी गरे।
उनले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीले तीव्रता पाएको स्पष्ट पारे। आयोगले निर्वाचन व्यवस्थापनको काम सकेर हाल मतदाता नामावली सङ्कलनको कामलाई तीव्रताका साथ अघि बढाएको जानकारी दिए। दैनिक रूपमा ठूलो सङ्ख्यामा छुटपुट भएका मतदाताहरू नामावलीमा समावेश हुन आइरहेको उनले उल्लेख गरे।
भण्डारीले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन र मतदाता शिक्षा कार्यक्रमलाई सचेतनापूर्वक अघि बढाउन पनि आयोग सचेत रहेको बताए।