arrow

जेन-जी आन्दोलनको क्षति: २३ अर्ब बढीको बीमा दाबी, १.५८ अर्ब भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
nepal-beema-pradhikaran.jpg

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले यसमध्ये रु एक अर्ब ५८ करोड ५६ लाख बराबरको रकम भुक्तानी गरिसकेका छन्।

बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले सक्रियता देखाएका कारण अग्रिम भुक्तानी गरिएको जनाइएको छ। प्राधिकरणका अनुसार असोज २३ गतेसम्म कुल तीन हजार ९९ वटा बीमा दाबीको आवेदन परेको छ। यी दाबीहरूमा मोटर बीमा (२,२०६), सम्पत्ति बीमा (६५३), इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा (१९०) लगायतका क्षेत्रहरू समावेश छन्। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सर्वाधिक १,६६९ वटा दाबी परेका छन्।

कम्पनीगत रूपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक रु ५ अर्ब ६१ करोड ४४ लाख बराबरको बीमा दाबी परेको छ, जसमध्ये कम्पनीले रु ५९ करोड ४४ लाख भुक्तानी गरिसकेको छ। दी ओरियण्टल इन्स्योरेन्समा रु ५ अर्ब २४ करोड ४७ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७५ करोड ९७ लाख र शिखर इन्स्योरेन्समा रु २ अर्ब ४० करोड ८६ लाख बराबरको दाबी परेको छ।

मुलुकभर माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा मात्र बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ