पर्यटकीय राजधानी पोखरामा चार प्रमुख स्थानमा छठ पर्वको भव्य तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1k
Shares
कास्की । पर्यटकीय राजधानी पोखरामा सूर्य भगवानको उपासना गरिने छठ पर्व यस वर्ष पनि धुमधामका साथ मनाउने तयारी गरिएको छ। पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूका लागि पोखरामै चार प्रमुख स्थानमा छठ पूजाको विशेष व्यवस्था मिलाइएको छ।
नारायणस्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले दिएको जानकारीअनुसार, पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायणस्थान मन्दिर, सेतीगण्डकी र कालीखोलाको सङ्गमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको छ। भक्तजनहरूका लागि सहज वातावरण सिर्जना गर्न चारवटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध मिलाइएको छ। पूजाका लागि घर जान असमर्थ भएका वा यहीँ बसेर पूजा गर्ने बाध्यता भएकाहरूलाई यस व्यवस्थाले सहज भएको गुप्ताले बताएका छन्।
छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिनेछ। पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुहरूका लागि बस्ने व्यवस्था मिलाइएको उपाध्यक्ष गुप्ताले बताए।
भद्रकाली छठपूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार, भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खरना) र राति पूजा गर्ने परम्परा छ। यस पर्वमा केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइन्छ र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ व्रत बसिन्छ। पोखरामा करिब १० हजारको हाराहारीमा नागरिकले छठपर्व मनाउने गरेको बताइन्छ, र पछिल्लो समय तराईसहित पहाडी समुदायमा समेत छठ मनाउने प्रचलन बढेको पाइन्छ।