दाइलाई मारेर भाउजुलाई घाइते बनाई गरगहना लुटेर भागेका घर्ती २० वर्षपछि पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1.1k
Shares
म्याग्दी । म्याग्दीमा आफ्नै दाइको हत्या गरेर भागेका व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्। बेनी नगरपालिका–६ माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते हत्या भएको थियो।
कर्णबहादुरको हत्या आफ्नै भाइ ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीले गरेका थिए। घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घरमा सुतिरहेका कर्णबहादुरलाई उनले दाउराले हानेर हत्या गरेको र भाउजुलाई गम्भीर घाइते बनाई गरगहना लुटेर भागेर भारत गएको अभियुक्त घर्तीले बयान दिएको प्रहरीले जनाएको छ।
घटनापछि अभियुक्त घर्ती पाँच वर्ष भारतको मुम्बई बसेका थिए भने त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गर्नुका साथै देशका विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरी लुकीछिपी घर आउनेजाने गरेको पाइएको छ।
घर्तीलाई प्रहरीले यही कात्तिक १ गते पक्राउ गरी मुलुकी अपराधसंहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
अभियुत्त घर्ती क्षेत्री यसअघि पनि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। विसं २०५९ पुसमा जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकामा २०६० चैत ७ गते तत्कालीन विद्रोही माओवादीले गरेको बेनी आक्रमणका क्रममा कारागारबाट भागेर फरार भएका थिए।
जिल्ला अदालत म्याग्दीले २०६६ जेठ १६ गते घर्ती क्षेत्रीलाई जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो।