शाखारहित बैंकिङ सेवा सुरु

प्रकाशित मिति : २०७३ माघ २४ सोमबार
धनगढी । जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । 
 
जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवा शनिबारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 
 
नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त रुपमा बैंकिङ सेवाको उद्घाटन गरे ।
 
शाखारहित बैंकिङ सेवाको सुरुवातले ग्रामीण क्षेत्रमा रहेका स्थानीय बासिन्दाले वित्तीय सेवा सहज सरल रुपमा लिन पाउने विश्वास गरिएको छ । 
 
बैंकले कृषि क्षेत्रलगायत अन्य स–साना कर्जा उपलब्ध गराउने जनाइएको छ । बैंकले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमकोे सहकार्यमा आगामी दुई वर्ष भित्रमा कैलाली जिल्लामा थप ६ वटासहित देशका विभिन्न भागमा गरी जम्मा ५० वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ । 
 
हालसम्म उक्त बैंकका ४२ शाखा र १८ शाखारहित सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान भइरहेको छ । रासस 
नयाँ