बाढी–पहिरोमा उत्कृष्ट नेतृत्व गरेबापत इलामका असई 'सर्वोत्कृष्ट प्रहरी' घोषित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.1k
Shares
विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रमेश कुमार चौधरीलाई २०८२ साल असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
चौधरीले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेकोले यो सम्मान पाएका हुन्। उनले असोज १९ गते बाढी र पहिरोले ठूलो क्षति पुर्याएको इलामको माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनले बाढी–पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव उद्धार गरी पहिरोबाट निकाल्ने कार्यको नेतृत्व गरे। साथै, माइजोगमाई गाउँपालिका–५ र ६ का दुई जना सुत्केरी महिला र एक जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न पनि उनले सक्रिय भूमिका खेलेका थिए।
यसका अतिरिक्त, बाढी–पहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारका लागि स्थानीय समाजसेवीसँग समन्वय गरी करिब ५० हजार रुपैयाँ बराबरका फर्निचर र सामाग्री उपलब्ध गराउनुका साथै, अवरुद्ध भएका सडकहरू पुनः सञ्चालन गर्न स्थानीय प्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्य गरेर द्रुत गतिमा सुचारु गराएका कारण उनको कार्यलाई उच्च मूल्याङ्कन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।