रोग नै सबैभन्दा ठूलो शत्रु हो, पालेर नबसौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
813
Shares
बाजुरा । सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले रोग नै सबैभन्दा ठूलो शत्रु भएको बताएकी छन् ।
आइतबार जिल्ला अस्पताल बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपीडी शिविर उद्घाटन गर्दै उनले मानिसले सहज रुपमा जीवन जिउन सबैभन्दा पहिला उसलाई स्वस्थ्य शरीर आवश्यक हुनुपर्ने बताइन् ।
उनले कसैले पनि रोग पालेर बस्न नहुने बताइन् । स्वास्थ संवेदनशील क्षेत्रभित्र पर्ने भएकाले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्नेमा दानीले जोड दिइन् ।
व्यक्तिसँग धनदौलत, ऐस आराम जति भए पनि जब शरीर नै रोगी छ भने त्यसले जीवनभर सताइरहने उनले बताइन् ।
उनले भनिन्, ‘व्यक्ति बिरामी अर्थात् रोगी छ भने त्यो कहिल्यै तृप्त हुन सक्दैन् । न उसले देश दुनियाँ घुमेर रोमाञ्चक गर्न सक्छ नत सहज जीवन जिउन । त्यसैले मानिसको सबैभन्दा ठूलो शत्रु भनेकै रोग हो ।’
‘मानिसका लागि सबैभन्दा ठूलो उपलब्धि भन्नु नै निरोगी हुनु हो । निरोगी रहनु जस्तो आनन्द अरू केही हुन सक्दैन् । त्यसैले रोगलाई परास्त गरि निरोगी जीवन जिउन आवश्यक छ । रोग नै त्यस्तो शत्रु हो, जसले हामीलाई खान दिन्छ,न सुत्न दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ’, दानीले भनिन् ।
साथै उनले बाजुरा जस्तो दुर्गम तथा पिछडिएका ठाउँमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुनु खुशीको कुरा भएको बताइन् ।
शिविरबाट प्रदान गरिने हरेक सेवा लिन सम्पूर्ण बाजुसाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह दानीले गरेकी हुन् ।
निःशुल्क स्वास्थ शिविर सञ्चालनबाट यहाँका गरिब, दुखी, उपचार नपाएका व्यक्तिका लागि शिविर वरदान सावित बन्ने अपेक्षा लगिएको समेत उनले बताइन् ।
दुर्गमका नागरिकलाई सेवा दिन सहयोग गर्ने नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ हाडजोर्नी विशेषज्ञलाई धन्यवाद समेत दिएकी छन् ।
उक्त शिविर नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी, बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।
४७औँ बर्षदेखि गैरनाफामूलक सेवा दिँदै आएको नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न, असहाय, विभिन्न रोगबाट ग्रसित बिरामीलाई सहज रुपमा सेवा दिँदै आएको छ ।