arrow

शापु रोग सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
shapu11.jpg

काठमाडौँ ।  नेपालमा शापु रोग सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत बी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा "सिजनल हाइपरएक्युट पानुभेइटिस (शापु) – अ ब्लाइन्डिङ आइ डिजिज; एक्सप्लोरिङ कनेक्सन्स बिटविन ह्युमन्स (आइज) एन्ड इन्सेक्ट्स (मोथ्स)" शीर्षकमा त्रिविको राष्ट्रिय प्राथमिकता अन्तर्गत सञ्चालन गरिएको अनुसन्धान कार्यको अन्तिम प्रतिवेदन तथा निष्कर्ष सार्वजनिक गरिएको हो ।

गत ५० वर्षमा नेपालका हजारौँ मानिसहरू “सिजनल हाइपरएक्युट प्यानुभाइटिस (शापु)” नामक विनाशकारी आँखाको रोगका कारण दृष्टि गुमाइरहेका छन् । यो महामारी प्रायः मनसुन समाप्त भएपछि (साउन–भदौ) शुरू भई हिउँद (मंसिर–पुस) महिनामा उच्च स्तरमा पुग्ने गर्छ । शापु प्रायः बालबालिकामा, एक आँखामा मात्र असर पार्ने, छिटो प्रगतिशील र स्थायी अन्धोपन ल्याउने रोग हो । प्रभावित दुई तिहाइ बिरामीहरू पहिलो सम्पर्कमै अन्धा हुन्छन् र बाँकी छिट्टै सुक्खा, विकृत आँखामा परिणत हुन्छन् ।

शापुको प्रमुख लक्षण हो — अचानक शुरू हुने, एकतर्फी, दुखाइरहित (वा हल्का दुख्ने) रातो आँखामा डिस्चार्ज बिना सेतो पुतलीझैं प्रतिबिम्ब देखिनु (“रेड आइ विथ ह्वाइट पुपिलl”) — जुन स्वस्थ्य व्यक्तिमा देखा पर्छ ।

सेतो पतिंगा (माथ) सँगको प्रत्यक्ष सम्पर्क शापुको जोखिम बढाउँछ, तर हावामा रहेका पतिंगाका साना काँडानुमा (सेटेइ) सँगको अप्रत्यक्ष सम्पर्क पनि रोग उत्पन्न गर्ने सम्भावना रहेको पाइयो । शापु र “गाजालिना क्राइसोलोफा (गाजालिना क्रोसोलोफा)” नामक सेतो पतिंगा बीचको सम्बन्ध धेरै वर्षदेखि चिनिएको भए पनि रोग कसरी हुन्छ भन्ने ठ्याक्कै कारण अझै स्पष्ट छैन । यस अस्पष्टतालाई सम्बोधन गर्न, दुई अन्तरसम्बन्धित अध्ययन — शापु मेडिकल अध्ययन र शापु कीटविज्ञान (इन्टोमोलोजिकल) अध्ययन — सञ्चालन गरियो, जसले चिकित्सकीय, कीटविज्ञान, वातावरणीय र जैवरासायनिक पक्षबीचको सम्बन्ध खोज्ने उद्देश्य राख्यो ।

उक्त फाइनल डिसिमिनेसन प्रोग्राम चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहनराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश  बुढाथोकीले यस अनुसन्धानबाट प्राप्त परिणामहरू राज्यका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै शापु रोगको निवारणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सधैं तत्पर रहने बताए ।

प्रमुख अतिथि प्राडा मोहनराज शर्माले यस किसिमका अनुसन्धानहरूले राज्यलाई नीतिगत रूपमा मार्गनिर्देशन गर्ने र अनुसन्धानलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

विशेष अतिथि तथा त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक प्राडा ईश्वर कोइरालाले शापु सम्बन्धी अनुसन्धानले विश्वविद्यालय मात्र नभई सम्पूर्ण देशकै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्याल अनुदान आयोग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, विभिन्न निकायका अनुसन्धान कर्ता तथा विषय विज्ञहरुको उपसथिति रहेको थियो ।  

कार्यक्रममा अनुसन्धान परियोजनाका अनुसन्धानकर्ता डा. रन्जु खरेल सिटौला, डा. प्रताप कार्की तथा डा. दयाराम भुसालले हालसम्म प्राप्त उपलब्धिहरू र आगामी कार्ययोजनाबारे जानकारी गराए । कार्यक्रमको सञ्चालन स्नेहा कार्कीले गरेकी थिइन् ।

डा. रन्जु खरेल सिटौला

शापु मेडिकल अध्ययनमा २०२३ को महामारीमा ६३ र २०२४ को छिटफुट प्रकोपमा १८ केसहरूको विश्लेषण गरिएको थियो । यसले जनसांख्यिकीय ढाँचा, क्लिनिकल विशेषता र प्रयोगशाला परीक्षणहरूमा केन्द्रित थियो । शापु कीटविज्ञान अध्ययनमा २०० भन्दा बढी “गाजालिना क्रिसोलोफा” पतिंगा सङ्कलन, पहिचान र डीएनए बारकोडिङ सहित यसको जीवनचक्र, बासस्थान, जैव–जलवायु उपयुक्तता, आहार बानी र प्राकृतिक दुश्मनहरूको अध्ययन गरियो। साथै शापु बिरामीका आँखा स्वाब, नियन्त्रण नमूना र पतिंगा काँडानुमा रहेका जैवरासायनिक पदार्थहरूको तुलना पनि गरिएको थियो ।

अध्ययनको निष्कर्षअनुसार शापुका केसहरू मुख्यतः गण्डकी, त्यसपछि बागमती र कोशी प्रदेशमा बढी देखिए । औसत उमेर २०.९ वर्ष थियो । २०२४ मा पहिलो पटक जोडी वर्षमा पनि प्रकोप देखिनुले रोगको महामारी स्वरूप परिवर्तन हुँदै गएको देखाएको छ । 

पतिंगाको उपस्थिति तापक्रम, आर्द्रता र होस्ट बोट “अल्नस नेपालेन्सिस” (यूटिस) को उपलब्धतासँग गहिरो सम्बन्ध पाइएको निष्कर्ष निकालिएको थियो । जलवायु परिवर्तनसँगै पतिंगाको फैलावट अन्य प्रदेशहरूमा पनि विस्तार हुने सम्भावना देखिएको सम्बन्धित चिकित्सकले बताएका छन् ।

निष्कर्षतः यस अनुसन्धानले शापु र गाजालिना क्रिसोलोफा बीचको सम्बन्धबारे हालसम्मकै सबभन्दा ठोस प्रमाण प्रस्तुत गरेको थियो । 

यसले वातावरणीय तथा जैविक कारणहरू कसरी एकआपसमा क्रियाशील भएर अन्धोपन ल्याउँछन् भन्ने स्पष्ट पारेको छ । 

यसले लक्षित जनस्वास्थ्य रणनीति, प्रमाण–आधारित उपचार र स्थायी पतिंगा नियन्त्रण उपायहरू विकास गर्न मार्ग प्रशस्त गरेको छ । 

त्यसैले भविष्यमा शापु सम्बन्धी अन्धोपन रोक्न मानव, वातावरण र कीटविज्ञानलाई जोड्ने एकीकृत एक स्वास्थ्य दृष्टिकोण अत्यावश्यक रहेको उक्त निश्कर्षको जोड छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ