arrow

कञ्चनपुरमा निर्वाचनका लागि तीन हजार बढी नयाँ मतदाता थपिए, दर्ताको म्याद मंसिर ५ गतेसम्म बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
Kanchanpur-hamrakura.jpg.jpeg

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन्। नयाँ मतदाता थपिनुअघि जिल्लाको कुल मतदाता सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको थियो, जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना थिए। मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन्।

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएकोमा निर्वाचन आयोगले उत्साहजनक सहभागितालाई मध्यनजर गरी नामावली दर्ता गर्ने म्याद कात्तिक मसान्तबाट बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ। नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ।

जिल्लामा हाल १३२ मतदानस्थल र ३४६ मतदान केन्द्र छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले पुनरावलोकनका लागि समय अभाव भएकाले मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना नरहेको बताए। कृष्णपुर नगरपालिकाको वडा नं ५ मा रहेको नगरपालिका भवनको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ। सूचना अधिकारी महराले मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको र सबै मतदानस्थल र केन्द्रहरू अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ