बञ्चरेडाँडाका स्थानीयको माग कार्यान्वयनमा, अवरोध हटाउन मन्त्री घिसिङको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
832
Shares
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिने बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने भएको छ। केही समयअघि स्थानीय वासिन्दाहरूले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै त्यस क्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा अवरोध गरेका थिए।
फोहोर विसर्जनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ल्याण्डफिल्ड साइटमा गत १६ कात्तिकमा गएर तत्काल पूरा गर्न सकिने माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्री घिसिङले मङ्गलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरू कार्यान्वयनमा गइसकेकाले अब फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्।
स्थानीयको मागबमोजिम ल्याण्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान कार्य सम्पन्न गरिएको छ। साथै, प्रतिबद्धता अनुसार शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रभावित धुनिवेसी नगरपालिकाका प्रमुख, ककनी गाउँपालिकाका अध्यक्ष र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेको सहजीकरण समिति गठन गरिएको छ।
समितिले विगतमा भएका सहमति कार्यान्वयन अवस्थाको प्रगति विवरण तयार गरेको छ। मुआब्जा तथा क्षतिपूर्तिका लागि समितिबाट तत्कालको लागि सिसडोलमा अपनाइएको विधिअनुसार ल्याण्डफिल्ड साइट नजिक पर्ने धादिङ र नुवाकोटका प्रभावितलाई क्षतिपूर्ति स्वरूप रकम वितरण गर्न काठमाडौँ महानगरपालिकालाई पत्रचार गरिएको छ। क्षतिपूर्तिका लागि विगतमा वार्षिक ६५ लाख काठमाडौँ महानगरले वितरण गर्दै आएमा चालू आर्थिक वर्षका लागि बजेट वृद्धि गरी एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
फोहोर लैजान निकुञ्ज भएर जाने छुट्टै बाटो प्रयोग गर्न शहरी विकास विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्न परामर्शदातासँग सम्झौता गरिएको छ। साथै, ल्याण्डफिल्ड प्रभावित क्षेत्रका विभिन्न ४ सडक खण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ।