arrow

निराशाजनक ६ महिना : निकासी १०.८ प्रतिशतले वृद्धि हुँदा आयात ६४.३ प्रतिशतले वृद्धि

६ महिनामा निकासी ३६ अर्ब हुँदा आयात भयो ४ सय ६६ अर्ब

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
trade-export-promotion-center-132.jpeg
काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार आ.व. २०७३÷७४ को प्रथम छ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई  ५ सय २.३७ अर्व रुपैयाँ पुगेको छ । 
 
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले  वृद्धि भई आई रु ३६.३२ अर्व तथा कुल पैठारीमा ६४.३  प्रतिशतले वृद्धि भई भई रु. ४६६.०५ अर्व पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।  
 
आ.व. २०७२÷७३ को प्रथम छ महिनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः८.७ भएकोमा आ.व. २०७३÷७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१२.८ रहन आएको छ । 
 
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् । 
 
केन्द्रका अनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ६.१ प्रतिशतले ह्रास आई रु. ३.७४ अर्व, तयारी पोशाकको निर्यातमा ५.७ प्रतिशतले ह्रास आई रु. २.७७ अर्व पुगेको छ ।  यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १०.२ प्रतिशतले वृद्धि भर्ई रु. २.७९ अर्व, पोलिष्टर तथा अन्य धागोमा ३१.१ प्रतिशतले वृद्धि भई रु. २.९५ अर्व, मुसुरोको दालमा ३८.० प्रतिशतले वृद्धि भई रु ५५ करोड  पुगेको पनि केन्द्रले जनाएको छ । 
 
समीक्षा अवधिमा रु. ३७ करोड छाला, रु. १.७४ अर्वको  अलैंची, रु. १.६४ अर्व चिया, रु. १४ करोडको अदुवा,  रु. ४० करोडको चाऊचाऊ, रु. ३० करोड जडिवुटी, रु. २९ करोडको टुथपेष्ट, रु. १.५९ अर्बको टेक्सटाइल, रु. १.४४ अर्वको पश्मिना सल, रु. ३० करोडको हस्तकलाका सामानहरु, रु. ४० करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ । 
 
नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् । 
 
पैठारीतर्फ, आ.व. २०७३÷७४ को प्रथम छ महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ९५.३ प्रतिशतले वृद्धि भई रु. ५०.६५ अर्ब, पेट्रोलियम पदार्थमा १४१.० प्रतिशतले वृद्धि भई  रु. ५१.८१ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १६८.२ प्रतिशतले वृद्धि भई रु. ४६.९२ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ५९.४ प्रतिशतले वृद्धि भई रु. २०.८० अर्ब, औषधीमा १९.८ प्रतिशतले ह्रास आई रु. ११.४७ अर्ब, मशिनरी तथा पार्ट्समा १२६.४ प्रतिशतले वृद्धि भई  रु. ३८.२२ अर्ब, पोलिथिन ग्रेन्युल्समा १९.४ प्रतिशतले वृद्धि भई रु. ८.०३ अर्ब, कच्चा पाम आयलमा ८८.२ प्रतिशतले वृद्धि भई रु. १.९६ अव , दुरसञ्चारका सामाग्रीहरुमा ४९.८ प्रतिशतले वृद्धि भई रु. १५.८२ अर्ब, रसायनमा २५.५ प्रतिशतले वृद्धि भई रु. ४.७६ अर्ब भएको छ । 
 
यसैगरी समीक्षा अवधिमा रु. ११.८० अर्ब बराबरको सुन, रु. ४.१६ अर्व बराबरको चाँदी,  रु. ४.०० अर्ब बराबरको रासायनिक मल  तथा रु. २.५६ अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स  पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (रु. ८.९७ अर्ब ), भटमासको कच्चातेल ( रु. ६.५१ अर्व ), तयारी पोशाक (रु.७.११ अर्व ), अन्न ( रु. १९.०२ अर्व ), ऊन ( रु. १.९० अर्व ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ ।  
 
नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, थाइलेण्ड, इण्डोनेशिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, जापान, साउदी अरेविया, दक्षिण कोरिया, मलेशिया, भियतनाम, युक्रेन र क्यानडा प्रमुुख रुपमा रहेका छन् । 
 
गत आर्थिक वर्ष २०७२÷७३ को प्रथम छ महीनाको अवधिमा व्यापारघाटा पनि २६.० प्रतिशतले कमी आएतापनि चालु आर्थिक वर्ष २०७३÷७४ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा ७१.३ प्रतिशतले वृद्धि भई रु. ४२९.७३ अर्व पुगेको छ ।
 
नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ । यसै गरी युएसएतर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु सारतेल सुतीका झोलाहरु प्रमुख रुपमा निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ ।
 
यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ  उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसै गरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो, छाला, ऊनी गलैंचा, टोपी, औषधी  र हस्तकलाका सामानहरु निर्यात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
 
यता नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट  पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् । 
 
अर्को प्रमुख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ । साथै थाइलेण्डतर्फबाट भने धागो, यातायातका साधन, हल्का पेयपदार्थ, सेम्फू, प्लाष्टिकको कच्चापदार्थ आयात भएको देखिन्छ । इण्डोनेशियाबाट पनि कच्चा पाम तेल, कोइला, सुपारी, काठ तथा प्लाष्टिकको कच्चापदार्थ प्रमुख रुपमा आयात भएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ