रामेछाप। रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई-दुईटा ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तीमा अस्पताल सञ्चालनमा छन् ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तीमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने पाँच शैय्याको रहको छ ।
दुवै अस्पतालका लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्यकर्मीको दरबन्दी दिएको छ । बाँकी सबै जनशक्ति तथा उपकरण गाउँपालिकाले नै व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।
भौगोलिक हिसाबले विकट उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलका स्थानीयलाई गाउँपालिकाको केन्द्र प्रीति आइपुग्न पनि चार घण्टा लाग्छ । जिल्ला सदरमुकाम मन्थली पुग्न त उनीहरूलाई दिनभरि लाग्छ ।
त्यसैले आधारभूत तहको स्वास्थ्य सेवा गाउँमा नै पाउन सकून् भनि गाउँपालिकाले दुई ठाउँमा अस्पताल सञ्चालन गरेको हो ।
गुम्देल, बाम्ती, कुभुकास्थली लगायतका नागरिकलाई लक्षित गरी बाम्तिमा अस्पताल सञ्चालन गरिएको छ ।
यस्तै प्रीतिका दुईटा वडा तथा गुम्तेश्वर र भूजीका नागरिकलाई लक्षित गरी प्रीतिमा अस्पताल सञ्चालन गरिएको सुनुवारले बताए ।
गाउँपालिकाकै स्रोतबाट दुईटा अस्पताल सञ्चालन गर्दा निक्कै व्ययभार पर्ने भए पनि नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर दुईटा अस्पताल सञ्चालन गरिएको सुनुवारले जानकारी दिए ।
‘असाध्यै खर्चिलो छ, डाक्टरहरू राख्नै गाह्रो छ, तै पनि नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुरा भएन, अन्य धेरै योजना कटौती गरेर भए पनि अस्पताल सञ्चालन गरेका छौँ’, सुनुवारले भने ।
स्थानीय सरकारसँग केही गरौँ भन्ने भावना र नागरिकप्रति उत्तरदायित्व बोध भयो भने स्थानीय तहले नागरिकको हितमा धेरै काम गर्न सक्छ भन्ने उदाहरण उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्र बनेको छ । यसबाट अन्य स्थानीय तहले पनि लोक कल्याणकारी राज्य कस्तो हुनुपर्छ भन्ने पाठ सिक्न सक्छन् ।