पर्सामा ईभी गाडीबाट ठूलो मात्रा ट्रामाडोल बरामद, चार जना पक्राउ
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
1k
Shares
वीरगञ्ज । पर्सा प्रहरीले विशेष सुराकीका आधारमा सञ्चालन गरिएको कारबाहीमार्फत ठूलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गर्दै चार जनालाई हिरासतमा लिएको छ।
श्रीपुर वडा प्रहरी कार्यालयको टोलीले वीरगञ्ज–१५ को प्रतिमाचोक आसपास रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको ईभी सवारी चेकजाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी गराए।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा एसपी पाठकले मङ्गलबार साँझ करिब ६ बजेतिर नियन्त्रणमा लिइएको उक्त सवारी साधनको विस्तृत अन्वेषण गर्दा रातो र गुलाबी सुटकेसभित्र लुकाएर राखिएको ६० हजार ५३० ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल भेटिएको विवरण सार्वजनिक गरे।
सुटकेस बोकेका दुई जनालाई प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान अघि बढाइएको र उनीहरू बसोबास गर्दै आएका वीरगञ्ज–२४, रामगढवास्थित भाडाको कोठाबाट १५ हजार ६४० अतिरिक्त क्याप्सुल समेत बरामद भई बजारमा पठाइँदै गरेको कुल मात्रा ७६ हजार १७० क्याप्सुल पुगेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ बस्ने २० वर्षीय युवराज पटेल,वीरगञ्ज महानगरपालिका–२४ बस्ने २१ वर्षीय अफजल देवान,धादिङ बेनिघाट रोराङ गाँउपालिका–६ बस्ने १९ वर्षीय रामहरि मगर र धादिङ सिद्धलेक गाँउपालिका–७ बस्ने १९ वर्षीय राजकुमार मगराती छन् ।
प्रहरीका अनुसार आरोपीहरू विरुद्ध अदालतबाट सात दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान बढाइएको जनाएको छ ।