हिजो आज सामाजिक संजाल लगायतका विभिन्न माध्यमहरूमा पीआरपी इन्जेक्सनको बारेमा धेरै नै प्रचार सुन्न पाइन्छ । कुनै कुनै सेन्टरहरूमा घुँडाको समस्याको उपचार पीआरपी इन्जेक्सनबाट गरिन्छ । जुन बिल्कुलै नयाँ प्रविधि हो भनेर भन्ने गरिन्छ ।
वास्तवमा पीआरपी इन्जेक्सन सबै अवस्थामा उपयोगी नहुन पनि सक्छ। यो इन्जेक्सन लगाउनु भन्दा पहिला बिरामीहरूको राम्रोसँग जाँच गर्नुपर्छ । यो इन्जेक्सन लगाउने सबै आधारहरू म्याच गरेपछि मात्र बिरामीहरूलाई लगाउने सल्लाह दिनुपर्छ । त्यसकारण पीआरपीको बारेमा यथार्थ र भ्रमहरू के के छन् भनेर विश्लेषण गर्नु यो लेखको उद्धेश्य हुनेछ ।
पीआरपी भनेको के हो ?
पीआरपी भनेको प्लेटिलेट रिच प्लाज्माको छोटो रूप हो । पीआरपी बुझ्नु भन्दा पहिला मानव शरीरको रगतमा के के तत्यहरू हुन्छन् भन्ने बुझ्नु पर्छ । मूल रूपमा रगतमा चार ओटा तत्वहरू हुन्छन् । ती हुन् प्लाज्मा (लिक्विड), रक्त कोशिका, स्वेत कोशिका र प्लेटिलेट ।
विशेष मेसिनको माध्यमबाट सेन्ट्रिफ्युगेसन विधिद्वारा रगतमा भएका रक्त कोशिका र स्वेत कोशिकाहरूलाई हटाउँदा रगतमा प्लेटिलेट र प्लाज्मामात्र बाँकी रहन्छ । जसलाई प्लेटिलेट रिच प्लाज्मा वा छोटकरी पीआरपी भनिन्छ ।
यसले शरीरमा तन्तुहरूलाई हिलिङ गर्न मद्दत गर्नुका साथै इन्फ्लामेसन कम गर्दछ । जसले गर्दा शरीरको सम्बन्धित अंगमा दुःखाइ कम हुन्छ ।
पीआरपीको प्रयोग कहिलेदेखि शुरु भयो ?
प्रचार गरिएजस्तै यो एकदमै नयाँ प्रविधि भने होइन। इतिहास पल्टाएर हेर्दा सन् १९७० देखि यो प्रयोगमा आएको देखिन्छ। त्यो बेलामा पीआरपी अपरेसन गरेपछि रक्तश्राव कम गर्न यसको प्रयोग गरिएको थियो ।
सन् १९८० को दशकमा मुखको अपरेसन गरेपछि त्यसको हिलिङ गर्न प्रयोग भएको थियो । १९९० को दशकदेखि अर्थोपेडिक र स्पोर्ट्स मेडिसिनमा पीआरपीको प्रयोग शुरू भएको थियो । सन् २०१० देखि भने यसको प्रयोग व्यापक भएको देखिन्छ ।
हाड जोर्नी विभागमा येस्को प्रयोग कहाँ हुन्छ?
विशेषातः घुँडाको हड्डी खिइएमा, कुहिनाको जोर्नी (टेनिस एल्बो) दुखेमा, कुर्कुच्चाको दुखाइ (प्लाण्टर फेसिआइटिस) भएमा, कुमको जोर्नी (रोटेटर कफ टेण्डिणाइटिस) दुखाइ भएमा पीआरपीको प्रयोग गरिन्छ ।
यद्यपि यसको प्रयोग अरु धेरै समस्याहरूमा पनि हुन्छ ।
पीआरपीको गुणस्तर कसरी राम्रो बनाउने ?
पीआरपीमा हुने फ्लेटिलेट्को मात्रा रगतमा हुने प्लेटिलेट भन्दा तीनदेखि चार गुणा बढी हुनु पर्दछ । यसको मतलब प्लेटिलेटको मात्रा पीआरपीमा १० लाख पर माइक्रोलिटर हुनु पर्दछ। रगतमा एक लाख पचास हजार पर माइक्रोलिटर भन्दा कम प्लेटिलेट भएका, प्लटिलेट सम्बन्धी रोग भएका र रगत पातलो बनाउने औषधी खाएका बिरामीहरूको रगतबाट राम्रो गुणस्तरको पीआरपी तयार पार्न गाह्रो हुन्छ।
सिंगल स्पिनिङ्ग भन्दा डबल स्पिनिङ्ग प्रविधिबाट तयार पारिएको पीआरपीमा प्लेटिलेट्को मात्रा बढी हुन्छ। केही समय स्टोर गरेर राखेको भन्दा बनाएर तुरुन्त लगाएको पीआरपी बढी प्रभावकारी हुन्छ।
घुँडाको हड्डी खिइएको अवस्थामा पीआरपीको के भूमिका छ ?
पीआरपी इन्जेक्सन घुँडा खिएका बिरामीहरूलाई अत्यन्तै राम्रो प्रविधि हो भन्ने भास्य त्यति उपयुक्त छैन । घुँडाको हड्डी खिइएका बिरामीहरूलाई निको पार्नको लागि धेरै कारकहरूको भूमिका रहन्छ ।
बिरामीको उमेर, शरीरको वजन, घुँडा खिइएको ग्रेड, हड्डीको वंशाणुगत अवस्था, बिरामीको पेशा, काम गर्ने तरिका, अरु क्रोनिक रोगहरू भए नभएको, खुट्टाहरू बाङ्गा भए नभएको आदि आदि ।
यी माथि उल्लेख गरिएका सबै कुराहरूलाई बेवास्ता गरेर पीआरपी इन्जेक्सन लगाएमा यसले राम्रो परिणाम दिँदैन। विशेषतः पीआरपी इन्जेक्सन शुरूआती हड्डी खिइएको (ग्रेड १ ,२) अवस्थामा, कम वजन भएका, घुँडाको हड्डी बाङ्गा टिङ्गा नभएका, घुँडा भित्रको कुरकुरे हड्डी धेरै नबिग्रिएका बिरामी हरूलाई उपयोगी हुन्छ ।
पीआरपी इन्जेक्सन लगाएको अन्दाजी एक महिनापछि मात्र दुखाइ कम हुन शुरू गर्दछ । इन्जेक्सनको साथसाथै घुँडा खिइएको अवस्थामा गरिने अन्य उपचार विधिहरूलाई पनि ध्यान दिन जरुरी हुन्छ ।
दुई वा तीन डोज इन्जेक्सन दुइदेखि चार हप्ताको अन्तरालमा लगाउँदा राम्रो हुन्छ । एक पटकमा दुइ वा तीन एमएलमात्र पीआरपी घुँडामा लगाइन्छ । सबै मापदण्ड पूरा गरेर लगाइएको अवस्थामा यो इन्जेक्सनले ६ महिनादेखि एक वर्षसम्म मात्र काम गर्दछ ।
यद्यपि अमेरिकन कलेज अफ रिमाटोलोजी सोसाइटीले पीआरपी इन्जेक्सन घुँडा खिइएको अवस्थामा लगाउँदा फाइदा हुनसक्छ भनेर किटान गरेर भन्न सकेको छैन । किनभने यो सम्बन्धी गहन अनुसन्धान अझै राम्रोसँग हुन सकेको छैन ।
त्यसकारण पीआरपी इन्जेक्सनलाई एक प्रचारमुखी साधनको लागि मात्र प्रयोग नगरौँ । यो एकदमै नयाँ प्रविधि हो भनेर बिरामीहरूलाई भ्रममा नपारौँ । यद्यपि यसलाई सही अवस्थामा र सही रोगमा प्रयोग गर्दा लाभदायक हुन्छ भन्ने कुरामा दुई मत छैन । (अमेरिकाबाट एफएसीएस तथा बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन् )