arrow

निर्वाचनमा नयाँ युगको शुरूआत

अब विदेशबाटै भोट हाल्न पाइने, मतपत्रमा 'नो भोट' को विकल्प

निर्वाचन कानूनमा आमूल परिवर्तनको तयारी: विदेशमा रहेका नेपालीलाई मताधिकार र 'नो भोट' को व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
election-2082-new.jpg

काठमाडौँ | सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न र अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउन चारवटा प्रमुख निर्वाचन ऐनहरू संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

गृह मन्त्रालयमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा सहसचिव आनन्द काफ्लेले सर्वोच्च अदालतको फैसला र विभिन्न क्षेत्रबाट उठेका मागका आधारमा निर्वाचनसम्बन्धी कानूनहरू परिमार्जन भइरहेको जानकारी दिए।

मन्त्रालयका अनुसार विदेशमा रहेका नेपालीहरूलाई मतदान प्रक्रियामा सहभागी गराउन निर्वाचन ऐन २०७३ र मतदाता नामावली ऐनमा आवश्यक सुधार गरिएको छ। नयाँ मस्यौदामा विदेशस्थित नेपाली नियोगहरूमा मतदान केन्द्र राख्ने र मतदाताको परिचय सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसका साथै, मतदाताले कुनै पनि उम्मेदवार मन नपरेमा 'कसैलाई पनि समर्थन नगर्ने' (नो भोट) विकल्प समेत मतपत्रमा समावेश गरिने भएको छ।

छलफलमा सहसचिव काफ्लेले मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको नयाँ अवधारणा समेत अघि सारिएको बताए। यस व्यवस्थाअनुसार मतदाताले आफ्नो स्थायी ठेगाना बाहिर रहेर पनि समानुपातिक, प्रत्यक्ष वा दुवैतर्फ मतदान गर्न सक्नेछन्।

उनले सरकार र निर्वाचन आयोगको सहकार्यमा ऐन संशोधनको खाका तयार भइसकेको र आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि विशेष सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयनको चरणमा लगिएको जानकारी समेत दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ