arrow

प्रतिनिधिसभा निर्वाचन २०८२

डोल्पामा सबैभन्दा कम र सुर्खेतमा धेरै मतदाता; कर्णालीमा निर्वाचनको तयारी अन्तिम चरणमा

कर्णालीमा १० लाख ३७ हजार मतदाताले मतदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
karnali-pradesh-province-always.jpg

काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजार २ सय ५० जना मतदाताले भाग लिने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई समावेश गर्दा यो सङ्ख्या पुगेको हो। 

यस प्रदेशमा कुल मतदातामध्ये पुरुषको सङ्ख्या ५ लाख २७ हजार ८ सय ८६ र महिलाको सङ्ख्या ५ लाख ९ हजार ३ सय ६१ रहेको छ। विसं २०७९ को निर्वाचनमा ९ लाख ८ हजार ४ सय ३३ मतदाता रहेकोमा यसपटक १ लाख २८ हजार ८ सय १७ नयाँ मतदाता थपिएका छन्।

प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा धेरै २ लाख ४८ हजार ९ सय ४३ मतदाता रहेका छन् भने हिमाली जिल्ला डोल्पामा सबैभन्दा कम २४ हजार १ सय १५ मतदाता रहेका छन्। अन्य जिल्लाहरूमा सल्यानमा १ लाख ६२ हजार ४ सय ४९, दैलेखमा १ लाख ६१ हजार २ सय ४, जाजरकोटमा १ लाख ७ हजार ९१ र रुकुम पश्चिममा १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन्। त्यस्तै कालीकोटमा ८४ हजार ६ सय ४६, जुम्लामा ७१ हजार ७ सय ३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार ३ सय ७२ मतदाता सङ्ख्या कायम भएको छ।

निर्वाचनलाई व्यवस्थित बनाउन प्रदेशभर ९ सय ४१ मतदान स्थल र १ हजार १ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको सूचना अधिकारी नन्दराम चौलागाइँले जानकारी दिएका छन्। सुर्खेतमा सबैभन्दा धेरै ३ सय २ मतदान केन्द्र रहनेछन् भने दैलेखमा २ सय ८, सल्यानमा २ सय ५, जाजरकोटमा १ सय ४६ र रुकुम पश्चिममा १ सय ४० केन्द्र रहनेछन्। कालीकोटमा १ सय २७, जुम्लामा १ सय ८, मुगुमा ६९, डोल्पामा ६८ र हुम्लामा ६४ मतदान केन्द्र तोकिएको छ। निर्वाचन कार्यालयले मतदान स्थल र केन्द्रहरूको व्यवस्थापनसँगै अन्य प्राविधिक तयारीलाई पनि तीव्र रूपमा अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ