रामेछाप । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिकको बुधबार अनावरण गर्दै उनले आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मङ्सिरभित्र सङ्घीय र राष्ट्रिय निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
नेपाल अहिले पनि सङ्क्रमणकालमै रहेको बताउँदै सभापति देउवाले तीनवटै तहको निर्वाचन नसकी सङ्क्रमणकालको अन्त्य नहुने बताए ।
कार्यक्रममा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वयनको दुईवटा एजेण्डा लिएर बनेको भन्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान प्रक्रियालाई कसैले रोक्न नसक्ने पनि बताए । सो अवसरमा सहिद परिवारलाई सम्मान गरिएको थियो । रासस