सुनसरीमा एक सय ६७ मतदानस्थल र छ सय २४ मतदान केन्द्र निर्धारण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
718
Shares
सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा पाँच लाख ८० हजार नौ सय ४५ जना मतदाता कायम भएका छन् ।
सुनसरीका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार दुई सय ५२ पुरुष, दुई लाख ८६ हजार छ सय ९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् ।
सुनसरीभर जम्मा एक सय ६७ मतदानस्थल र छ सय २४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार नौ सय ९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार तीन सय दुई मतदाता कायम भएका छन् ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताए ।
आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ । प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
उनी हाल सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत छन् । निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । रासस