arrow

प्रत्यायोजित विधायन समिति

निर्वाचन सुरक्षालाई लिएर तीनवटै सुरक्षा निकायले समितिमा के भने ?

सुरक्षा प्रमुखहरूले भने– 'भयरहित चुनावका लागि हामी पूर्ण तयारीमा छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
samiti-sena.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन मुलुकका तीनवटै सुरक्षा निकायले आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सुरक्षा निकायका उच्च प्रतिनिधिहरूले एकीकृत सुरक्षा योजनाअनुसार आपसी समन्वय र सहकार्यमार्फत काम भइरहेको जानकारी दिएका छन्।

बैठकमा नेपाली सेनाका सहायक रथी मनोज थापाले निर्वाचनका क्रममा हुन सक्ने सुरक्षा खतराको विश्लेषण भइरहेको र सेना जुनसुकै चुनौती सामना गर्न तयार रहेको बताए। उनले विगतका अधिकांश बारुदी सुरुङ नष्ट भइसकेको जानकारी दिँदै कतै विस्फोटक पदार्थ फेला परेमा तत्काल डिस्पोजल टोली परिचालन गरिने बताए। "हामीले संवेदनशील क्षेत्रहरूमा साना–साना टुकडीमा बम डिस्पोजल टोली परिचालन गरेका छौँ," उनले भने, "किसान, महिला र बालबालिकालक्षित जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ।"

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले पछिल्लो समय पेट्रोल बम र केमिकल प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती बनेको टिप्पणी गरे। उनले बम डिस्पोज गर्नुभन्दा पनि नयाँ बम बनाउने मानसिकता अन्त्य गर्नुपर्नेमा जोड दिँदै निर्वाचन लक्षित गरेर जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू सुरु गरिएको बताए। "अपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दी खोजीका लागि छुट्टै समिति गठन गरेर काम भइरहेको छ," एआईजी चतुर्वेदीले भने।

सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडा मगरले थप जनशक्तिको व्यवस्थापनबारे जानकारी दिँदै निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार 'निर्वाचन प्रहरी' थप गर्ने प्रक्रिया सुरु गरिसकेको बताए। सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति र एकीकृत रणनीतिमार्फत फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ