समानुपातिकतर्फको मतपत्र छपाइ आजैबाट शुरु, माघ १० देखि प्रत्यक्षतर्फको पालो
मतपत्रमा ५८ वटा चुनाव चिन्ह, माघ ६ मा मनोनयन र ९ गते चुनाव चिन्ह प्रदान गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
816
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम आज शुक्रबारबाट सुरु गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघ ९ गतेभित्र समानुपातिकतर्फको सम्पूर्ण मतपत्र छपाइ सक्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिएका हुन्।
समानुपातिकतर्फको मतपत्रमा जम्मा ५८ वटा निर्वाचन चिन्ह समावेश गरिएको छ। आयोगमा बन्दसूची बुझाएका ६४ दलका लागि ती चिन्हहरू तय गरिएका हुन्। प्रवक्ता भट्टराईका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ भने माघ १० गतेदेखि मात्र सुरु हुनेछ। निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुने र ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम छ। उम्मेदवारको टुङ्गो लागेपछि मात्र प्रत्यक्षतर्फको मतपत्रको डिजाइन र छपाइ प्रक्रिया अघि बढ्नेछ।
प्रवक्ता भट्टराईले भने, "समानुपातिकतर्फको वास्तविक मतपत्र छपाइ आजैबाट प्रारम्भ भएको छ। माघ ९ गते निर्वाचन चिन्ह प्रदान गरेपछि १० गते प्रत्यक्षतर्फको मतपत्रको डिजाइन प्राप्त हुनेछ र त्यसलगत्तै छपाइको काम सुरु हुनेछ।"
यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने मिति पनि छिट्टै तय गर्ने तयारी गरेको छ। आचारसंहिता लागू भएपछि चुनावी प्रचारप्रसार र सरकारी निकायका गतिविधिहरूलाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने आयोगको विश्वास छ।