प्रतिनिधि सभा निर्वाचन २०८२: कर्णालीका १२ क्षेत्रमा को-को भिड्दै छन्?
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
1.3k
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा प्रमुख दलहरूले आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएका छन्। दश जिल्ला र १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आ-आफ्ना उम्मेदवारहरूको नामावली सार्वजनिक गरी चुनावी सरगर्मी बढाएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवार छनोट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार कर्णालीका १२ मध्ये अधिकांश क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको छ। जसअनुसार सुर्खेत-१ मा जीतबहादुर राना, सुर्खेत-२ मा झकबहादुर मल्ल, दैलेख-१ मा अम्बरबहादुर थापा, दैलेख-२ मा योगेन्द्रबहादुर शाही, रुकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी र डोल्पामा धनबहादुर बुढालाई चुनावी मैदानमा उतारिएको छ। यस्तै, हुम्लामा डा. दीपेन्द्र रोकाय, कालीकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्तिबहादुर बस्नेत र मुगुमा चन्द्रबहादुर शाही उम्मेदवार चयन भएका छन् भने सल्यानमा भने अझै छलफल जारी रहेको बताइएको छ।
नेकपा (एमाले) को उम्मेदवार छनोट एमालेले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। एमालेका केन्द्रीय सचिव यामलाल कँडेलका अनुसार सुर्खेत-१ मा ध्रुव शाही, सुर्खेत-२ मा कुलमणि देवकोटा, दैलेख-१ मा रवीन्द्रराज शर्मा, दैलेख-२ मा लक्ष्मी पोखरेल, सल्यानमा गुलाबजङ्ग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्ग रोकाया र जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार तोकिएका छन्।
निर्वाचन आयोगले आगामी माघ ६ गते उम्मेदवारी मनोनयनको समय तोकेकाले दलहरूले उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएका हुन्। कर्णालीमा एमाले र नेकपाबीचको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने कांग्रेस र अन्य दलहरूले पनि आफ्ना उम्मेदवार टुङ्गो लगाउने अन्तिम तयारी गरिरहेका छन्।