रोल्पाका हरि बुढाले पूरा गरे 'सेभेन समिट' को विश्व कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
670
Shares
काठमाडौँ । रोल्पाको थवाङका साहसी पर्वतारोही तथा पूर्व गोरखा सैनिक हरि बुढाले विश्वका सातवटै महादेशका सर्वोच्च शिखर आरोहण गर्दै 'सेभेन समिट' को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।
६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा सफल आरोहण गरेपछि उनी खुसी साट्न सिधै नेपाल फर्किएका हुन्। सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा भएको विष्फोटमा परी दुवै खुट्टा गुमाएका बुढाले शारीरिक अपाङ्गतालाई इच्छाशक्तिले जितेर यो विश्वव्यापी सफलता प्राप्त गरेका हुन्। उनको यस ऐतिहासिक यात्रामा गाइड मिङ्मा शेर्पा र फोटो पत्रकार अविरल राईले साथ दिएका थिए।
बुढाले आफ्नो 'सपनाहरूको विजय–७ शिखर' अभियान अन्तर्गत सन् २०१९ मा युरोपको माउन्ट ब्याङ्कबाट आरोहण सुरु गरेका थिए। त्यसपछि उनले २०२० मा अफ्रिकाको माउन्ट किलिमाञ्चारो, २०२३ मा एसियाको सगरमाथा, २०२४ मा उत्तर अमेरिकाको डेनाली र २०२५ मा दक्षिण अमेरिकाको अर्कोकागुवा तथा ओशिनियाको कास्र्टेन्स पिरामिडको सफल आरोहण गरे।
अन्त्यमा सन् २०२६ मा माउन्ट भिन्सन आरोहण गरेसँगै उनको सातै महादेशका उच्च शिखर चढ्ने लक्ष्य पूरा भएको हो। प्रोस्थेटिक खुट्टा र विशेष उपकरणको सहयोगमा अत्यधिक चिसो र भिरालो पहाडका चुनौतीहरूलाई चिर्दै उनले विश्वका सर्वोच्च शिखरहरूमा पाइला टेकेर संसारलाई चकित पारेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूमा विश्वास जगाउन र समाजमा रहेको गलत धारणा परिवर्तन गर्न यो अभियान चालेको बुढाले बताएका छन्। उनले सपनाप्रति समर्पित भएर हार नमानी अघि बढ्दा जीवनका कुनै पनि चुनौती असम्भव नरहेको सन्देश प्रवाह गरेका छन्।
दुवै खुट्टा गुमाएर पनि सगरमाथा र सातै महादेशका शिखर चुम्नुले अपाङ्गता भएका व्यक्तिहरूले पनि क्षमताअनुसार सफल र अर्थपूर्ण जीवन बिताउन सक्छन् भन्ने तथ्यलाई उनले प्रमाणित गरिदिएका छन्।