ओखलढुङ्गामा १३ दल र तीन स्वतन्त्रको दावेदारी, कस्तो छ चुनावी समीकरण ?
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
708
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा तीन जना स्वतन्त्रसहित १३ वटा राजनीतिक दलका उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धाका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।
मनोनयन दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट कुमार लुइँटेल, नेकपा (एमाले) बाट अस्मिता थापा र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अम्बिरबाबु गुरुङ रहनुभएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला र नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापतिले पनि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ।
जिल्लाको एकमात्र निर्वाचन क्षेत्रका लागि अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ। मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की र श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी (संयुक्त) का नेत्रबहादुर नेम्वाङ, समावेशी समाजवादी पार्टीकी पिङ्की राई र मितेरी पार्टी नेपालका कुमार बहादुरले पनि मनोनयन पत्र बुझाएका छन्।
दलगत उम्मेदवार बाहेक स्वतन्त्रतर्फ मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र सोही वडाका नारायणकाजी तामाङले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएको छ भने आगामी माघ ११ गते सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।