arrow

प्रत्यक्ष निर्वाचनमा महिलालाई उपेक्षा: कर्णालीका एक सय ३८ उम्मेदवारमा १२ जना मात्रै महिला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
karnali-pradesh-province-always.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कुल १३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार यस पटक कर्णालीमा महिला उम्मेदवारीको सङ्ख्या निकै न्यून देखिएको छ। 

कुल उम्मेदवारमध्ये १२ जना मात्र महिला रहेका छन्, जुन कुल सङ्ख्याको १० प्रतिशतभन्दा पनि कम हो। ठुला राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कञ्जुस्याइँ गरेको देखिएको छ।

नेपाली कांग्रेसले कर्णालीभरिबाट दैलेख क्षेत्र नं. १ मा बासना थापालाई मात्र प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। प्रदेशका अन्य प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले भने प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार उठाएका छैनन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई चुनावी मैदानमा उतारेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सल्यानबाट अनिसा नेपालीलाई टिकट दिएको छ। विनिता कठायत र अनिसा नेपाली यसअघिको प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए।

सुर्खेत क्षेत्र नं. १ बाट नेकपा (माओवादी) ले हिरु शाही र क्षेत्र नं. २ बाट नेपाल मजदुर किसान पार्टीले तुलसी खड्कालाई उम्मेदवार बनाएको छ। उता आम जनता पार्टीले कर्णालीमा तीन जना महिलालाई अवसर दिएको छ, जसमा रुकुम पश्चिमबाट प्रेमा दमाइ, दैलेख क्षेत्र नं. १ बाट मेनका श्रेष्ठ र क्षेत्र नं. २ बाट तीर्थाकुमारी बंशीमगर (विक) रहेका छन्। 

यसैगरी राष्ट्रिय जनमोर्चाले सल्यानमा कमला डाँगी र नेपाल मितेरी पार्टीले डोल्पामा जुनु भण्डारीलाई उम्मेदवार बनाएको छ। समावेशिताको चर्को नारा लाग्ने गरे पनि प्रत्यक्ष निर्वाचनमा महिलाको न्यून उपस्थिति हुनुलाई कर्णालीको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ