arrow

चितवनको तीन सिटका लागि ६५ उम्मेदवार मैदानमा, क्षेत्र २ र ३ मा उच्च चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
election-2082-new.jpg

काठमाडौँ ।  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनका तीनवटा निर्वाचन क्षेत्रमा कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो जसमा तीन पदका लागि ६५ जनाको प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन क्षेत्र अनुसारको विवरण हेर्दा क्षेत्र नम्बर १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको छ। 

यसपटकको निर्वाचनमा चितवनमा १६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् जसमा क्षेत्र नम्बर १ मा चार जना तथा क्षेत्र नम्बर २ र ३ मा छ–छ जना रहेका छन् भने बाँकी ४९ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन्।

यसपटक चितवनका तीनै क्षेत्रमा ‘हेभिवेट’ र चर्चित उम्मेदवारहरूबीचको प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमै ठूलो चर्चा पाएको छ। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा उनलाई नेकपा एमालेका कमलराज पाठक र अन्य दलका उम्मेदवारहरूले चुनौती दिँदैछन्। 

त्यस्तै, क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर रेनु दाहालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन्। यस क्षेत्रमा रास्वपाले निवर्तमान सांसद सोबिता गौतमलाई चुनावी मैदानमा उतारेपछि प्रतिस्पर्धा झनै रोचक बनेको छ।

क्षेत्र नम्बर १ मा रास्वपाका तर्फबाट हरि ढकालले पुनः उम्मेदवारी दिएका छन् भने एमाले र कांग्रेसले पनि आफ्ना प्रभावशाली उम्मेदवारहरू खडा गरेका छन्। उम्मेदवारी दर्ताको यो तथ्याङ्कले चितवनलाई यसपटकको निर्वाचनको मुख्य ‘ब्याटल ग्राउन्ड’का रूपमा स्थापित गरेको छ। 

अब निर्वाचन आयोगले उम्मेदवारमाथिको उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनको प्रक्रिया सकेपछि जिल्लामा औपचारिक चुनावी प्रचारप्रसारले थप तीव्रता पाउने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ