सुधार गृहमा रातभर ताण्डव: संरचना ध्वस्त भएपछि एक सय ६९ जना प्रहरीको हिरासतमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
1k
Shares
काठमाडौँ । सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति भएको भीषण झडप, आगजनी र तोडफोडका कारण भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएपछि त्यहाँ रहेका १६९ जना बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ।
सुधार गृह तत्काल बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएपछि उनीहरूलाई भक्तपुर र काठमाडौँका जिल्ला प्रहरी परिसरअन्तर्गतका बाल निगरानी कक्षमा सारिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नभएसम्म उनीहरू हिरासतमै रहने र अहिले क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।
बिहीबार राति १० बजेदेखि सुरु भएको उक्त झडप र आगजनी नियन्त्रणका क्रममा २० जना प्रहरी र ८ जना बालबिज्याइँकर्ता घाइते भएका छन्। घाइते बालबिज्याइँकर्तामध्ये सात जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचार जारी छ।
सुधार गृहभित्रैबाट भएको ढुङ्गामुढा र आगजनीलाई दमकल र थिमि वृत्तको प्रहरी टोलीले निकै प्रयासपछि नियन्त्रणमा लिएको थियो। सुधार गृहमा १८ वर्षमाथिका ८४ जना युवासहित २४ जना बालिकाहरू रहेका थिए। १८ वर्ष उमेर नाघेपछि पनि कारागार पठाउने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवासमेत सुधार गृहमा सँगै बस्दै आएका छन्, जसले गर्दा त्यहाँ सुरक्षा चुनौती थपिएको कर्मचारीहरू बताउँछन्।
सुधार गृहभित्र प्रहरी जान नपाउने र बालबिज्याइँकर्ताहरूले नै आन्तरिक व्यवस्थापन गर्ने नियमका कारण उमेर छिप्पिएका र साना बालबालिका एकै ठाउँमा रहँदा विशेषगरी महिला बालबिज्याइँकर्ताको सुरक्षामा जोखिम बढेको छ।
यसअघि पनि पटक–पटक तोडफोड र भागभागका घटना दोहोरिरहने सानोथिमि क्षेत्रका बासिन्दाले भने यो सुधार गृहलाई बस्तीबाट अन्यत्र स्थानान्तरण गर्न माग गरेका छन्। झडपका बेला भित्रबाट प्रहार गरिएका ढुङ्गाले स्थानीयका घरमा क्षति पुग्ने गरेको र पटक–पटकको उपद्रोले छिमेकमा त्रास फैलाएको भन्दै उनीहरूले तत्काल उचित कदम चाल्न आग्रह गरेका छन्।