स्वास्थ्य बीमामा तीनै तहका सरकारले लगानी गर्नुपर्छ : स्वास्थ्य मन्त्री गौतम
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
806
Shares
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन ओटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।
आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बीमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरूले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् ।
अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बीमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् ।
अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै रु एक अर्ब बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ ।
मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बीमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन् ।
मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन् ।
सरकारी स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनु नपर्ने बताइन् ।
उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरू अघि बढाउन नसकिएको बताइन्।
उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेन-जीहरूको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताइन्।
उनले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरूको व्यवस्थापनमा सरकार लागिरहेको स्पष्ट पारिन् ।
उनले सहिद परिवारहरूले विभिन्न सेवासुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिइन् ।
मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
सरकारका तफबाट सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गरिन् ।
आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले अघि बढाउने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका कामहरू गरिरहेको उनको दाबी छ ।
सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बीमा बापतको रकम उपलब्ध गराई दिनेलगायत विभिन्न माग समेटिएको मागपत्र पेस गरेका थिए । उनका अनुसार उक्त अस्पतालले बीमा बापतको रु तीन करोड भुक्तानी पाउन बाँकी छ ।