शुरू भयो आपत्कालीन दादुरा-रुबेला विरुद्धको खोप अभियान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
765
Shares
सर्लाही । सर्लाहीको मलङ्वा नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि प्रभावित क्षेत्र लक्षित गर्दै विशेष खोप अभियान शुरू गरिएको छ ।
हालसम्म तीन हजार पाँच सय ४५ जना बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप लगाइसकेका छन् ।
मलङ्वा नगरपालिका वडा नं ३ मा २३ जना बालबालिकामा दादुरा पुष्टि भएपछि उक्त वडासहित त्यससँग सिमाना जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा खोप अभियान सञ्चालन गरिएको हो ।
छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै अभियान अघि बढाइएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार अभियानमार्फत छ ओटा वडाका करिब आठ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
गत पुस २४ गते मलङ्वा-३ स्थित मुस्लिम टोलका पाँच वर्षीय बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।
परीक्षणबाट दादुरा पुष्टि भएपछि सम्पर्कमा आएका अन्य बालबालिकाको जाँच गर्दा थप २२ जनामा पनि सङ्क्रमण भेटिएको हो ।
नगर स्वास्थ्य शाखाका अनुसार सङ्क्रमित सबै बालबालिका छ महिनादेखि ११ वर्ष उमेर समूहका छन् ।
हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। त्यसपछि परिवार कल्याण महाशाखा टेकुको निर्देशन र राष्ट्रिय खोप समन्वय समितिको निर्णय अनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान शुरू गरिएको हो ।
अभियानलाई प्रभावकारी बनाउन मधेस प्रदेश स्वास्थ्य मन्त्रालय, मलङ्वा नगरपालिका, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ लगायतका निकायबीच समन्वय भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोपसँगै सङ्क्रमण खोजी, सचेतना कार्यक्रम, मास्क प्रयोग, दूरी कायम गर्न तथा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
यही माघ १६ गतेसम्म लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्यसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र मदरसामा पुगेर खोप दिइरहेका छन् ।
नियमित खोप लगाइसकेका बालबालिकालाई समेत सुरक्षित रहन विशेष अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ ।