नयाँ संसद् भवनमै बस्नेछ फागुन २१ पछिको बैठक: सिंहदरबारको पुतली बगैँचामा तयारी तीव्र
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
997
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवनमै सञ्चालन हुने भएको छ। संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले निर्वाचनपछिको संसद् सञ्चालनका लागि सरकारले निर्माणाधीन भवन उपलब्ध गराउने जानकारी गराएको बताएका छन्।
उनले त्यहाँ रहेका कुल १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने सहमति भएको उल्लेख गरे। प्रतिनिधि सभा गठन भएपछि राष्ट्रिय सभाको बैठक पनि सोही निर्माणाधीन भवनबाटै सञ्चालन हुने उनले जानकारी दिए।
प्रवक्ता गिरीका अनुसार नयाँ संसद् भवनको ९० प्रतिशत भौतिक पूर्वाधारको काम सकिसकेको छ र बाँकी काम चैतसम्ममा सक्ने गरी सरकारसँग निरन्तर छलफल भइरहेको छ। निर्वाचनपछि गठन हुने संसद् बैठकका लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको भन्दै उनले अत्याधुनिक प्रविधिसहित संसद् सञ्चालन गर्ने तयारी भइरहेको बताए।
"नेपाल सरकारले चैतको पहिलो हप्तासम्ममा सचिवालयलाई भवन उपलब्ध गराउने जानकारी दिएको छ, त्यसैले हामीले वैकल्पिक व्यवस्थाको बारेमा सोचेका छैनौँ," गिरीले भने। एक महिनाभित्र बाँकी रहेका प्राविधिक कामहरू समेत सम्पन्न गरेर नयाँ प्रतिनिधि सभालाई स्वागत गर्ने लक्ष्य सचिवालयको छ।
यसअघि संसद् बैठक बस्दै आएको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरी ध्वस्त बनाएका थिए। उक्त भवनको पुनर्निर्माण कार्य अझै सुरु नभएकाले अहिले राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ।
बानेश्वरको भवन प्रयोगविहीन भएपछि सरकारले सिंहदरबारभित्रै आफ्नै अत्याधुनिक भवनमा संसद् सञ्चालन गर्ने प्रक्रियालाई तीव्रता दिएको हो।