महोत्तरी-४ को चुनावी चित्र, यस्तो उम्मेदवारको खोजी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
684
Shares
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नं ४ मा चुनावी चर्चा निकै चुलिएको छ। उम्मेदवार र राजनीतिक दलका कार्यकर्ताहरू गाउँबस्ती पुगेर मत माग्न व्यस्त देखिए पनि स्थानीय मतदाताहरूमा भने खासै उत्साह देखिँदैन। दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्लासँग जोडिएको यो क्षेत्र विकासका दृष्टिले निकै पछाडि छ।
यहाँका बासिन्दाले सामान्य स्वास्थ्य उपचारका लागि समेत भारतीय सहर सीतामढी पुग्नुपर्ने र भारतीय रुपैयाँ साट्न दौडधुप गर्नुपर्ने बाध्यता रहेको सम्सीका इम्तियाज अहमदले गुनासो गरेका छन्। सोनमा, सम्सी र रामगोपालपुरका स्वास्थ्य चौकीहरूले भरपर्दो सेवा दिन नसक्दा मानिसको जीवन निकै कष्टकर बनेको छ, तर चुनावी एजेन्डामा स्वास्थ्यले अझै प्राथमिकता नपाएको स्थानीयको दुखेसो छ।
शिक्षा र सिँचाइको अवस्था पनि यहाँ उस्तै नाजुक छ। सोनमाका रामकलेवर यादवका अनुसार यहाँ न स्तरीय अस्पताल छन्, न त गुणस्तरीय शिक्षाको नै व्यवस्था छ। वर्षायाममा मडहा र हर्दी नदीको कटानले गर्दा स्थानीय बासिन्दा रातभर जागै बस्नुपर्ने अवस्था छ। खेतीपातीका लागि गाउँको दुवैतिर नदी भए पनि सिँचाइको व्यवस्था नहुँदा किसानहरू अझै आकाशे पानीकै भरमा छन्।
राजनीतिक कार्यकर्ता मदन साहले नदी वरदान हुनुपर्नेमा यहाँका लागि अभिशाप बनेको बताएका छन्। यतिबेला घरदैलोमा पुगेका उम्मेदवारहरूले अस्पताल, विद्यालय र पक्की तटबन्ध बनाउने पुराना आश्वासनहरू पुनः दोहोर्याउन थालेका छन्, तर स्थानीय बासिन्दाले भने यसपालि स्पष्ट योजना नभई कसैलाई विश्वास नगर्ने अडान लिएका छन्।
यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा निकै रोचक र भिडभाडयुक्त छ। यहाँ १३ वटा राजनीतिक दलका र २३ जना स्वतन्त्र गरी जम्मा ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक दलगत र स्वतन्त्र गरी सात जना महिला उम्मेदवारहरूले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जस्ता ठूला दलहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
साथै राप्रपा, जनमत पार्टी र अन्य साना दलका उम्मेदवारहरूले पनि आ-आफ्नो प्रभाव जमाउन कोसिस गरिरहेका छन्। विकासको स्पष्ट दूरदृष्टि र स्थानीय समस्या समाधान गर्ने ठोस योजना ल्याउने उम्मेदवारले मात्र यसपालि जनताको मत पाउने सङ्केत देखिएको छ।