arrow

निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण : निर्वाचन आयुक्त जबरा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
sagun-jabara-election-office.jpg

काठमाडौँ । निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्ने बताए ।

विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उनले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गरे ।

आयुक्त जबराले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराए ।

उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरूको भुमिका महत्वपूर्ण हुन्छ। यो निर्वाचनलाई सफल र पारदर्शी बनाउने पनि महत्वपूर्ण भुमिका तपाईंहरूको छ । पर्यवेक्षणमा खटिने हरेक पर्यवेक्षकले नेपालको संविधान बुझेको हुनुपर्छ, नेपालको कानून बुझेको, निर्वाचन कानून, निर्वाचनको समग्र वस्तुस्थिति पनि बुझेको हुनुपर्छ । त्यो बुझेको मान्छेले पर्यवेक्षण गर्न सहज हुन्छ ।’

उनले भने, विगतमा सम्पन्न निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले पर्यवेक्षणमार्फत निर्वाचनको विश्वसनियता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न महत्वपूर्ण भुमिका निभाउनुभएको छ। आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहीता निर्देशिका अहिले रिलिज गरिसकेको छ । त्यसमा जुन खटिन्छौँ, एउटा पर्यवेक्षक संघ संस्थाले के गर्नुहुन्छ, के गर्नुहुँदैन ? भन्ने स्पष्ट लेखिएको छ। आचारसंहिता पर्यवेक्षकलाई पनि लाग्छ । तपाईंहरूको पनि आफ्नो संघ संस्थाले अध्ययन गरेको होला । त्यसको अधिनमा रहेर पर्यवेक्षण गर्नुहोला ।’

उनले पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्वपूर्ण सरोकारवाला र निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै एक दिने अभिमुखीकरण तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ