निर्वाचन सुरक्षामा कडाइ: ड्रोन उडाउन प्रतिबन्ध, फेसबुक र टिकटकमा प्रहरीको 'कडा' नजर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
837
Shares
काठमाडौँ । सरकारले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै ड्रोनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिले यस्तो निर्णय गरिसकेको जानकारी दिए।
उनका अनुसार अहिलेको समयमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई रोक्न नेपाल प्रहरीको अत्याधुनिक युनिटलाई थप सक्रिय र प्रभावकारी बनाइनेछ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या सूचना, भ्रमपूर्ण खबर र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको कडा निगरानी भइरहेको उनले बताए।
निर्वाचन विरोधी गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको छ। प्रवक्ता काफ्लेले निर्वाचनमा खटिने प्रहरीको बिमा गरिने र सञ्चार सम्पर्क नहुने मतदानस्थलहरूको पहिचान गरी उचित व्यवस्था मिलाउने तयारी भइरहेको पनि जानकारी दिए।
गृह मन्त्रालयले सबै सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी हुन नदिन र व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिइसकेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले 'एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२' बमोजिम भइरहेका काम, जनशक्ति परिचालन र बन्दोबस्तीको योजनाबारे समीक्षा गर्दै प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन्।
मन्त्रालयले सर्वसाधारणलाई सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिन अनुरोध गर्दै कसैलाई लाञ्छना लगाउने वा भ्रामक सूचना फैलाउने कार्य नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ।