प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार आजदेखि शुरु, फागुन १८ सम्म मत माग्न पाउने
आचारसंहिता उल्लङ्घन गर्नेको उम्मेदवारी खारेज हुन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
326
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन्। कानुनी व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममा चुनावी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने भएकाले आजदेखि यो प्रक्रिया खुल्ला गरिएको हो।
निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले यही फागुन १८ गते राति १२ बजेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्। निर्वाचनको मर्यादालाई ध्यानमा राखी सबै दल र उम्मेदवारले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कुरामा आयोगले जोड दिएको छ। सोही अवधिभित्र रहेर अब उम्मेदवारहरूले औपचारिक रूपमा मतदाताहरूसँग मत माग्न पाउनेछन्।
आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गर्न विभिन्न संयन्त्रहरू परिचालन गरेको छ। राजनीतिक दल वा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेमा स्पष्टीकरण सोध्ने र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी आयोगले दिएको छ। आचारसंहिता सबै दलको सहमति र प्रतिबद्धतापछि तयार पारिएकाले यसको पालना गर्नु सबैको जिम्मेवारी भएको आयोगले स्मरण गराएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले 'शून्य सहनशीलता' को नीति लिएको बताए। उनले उल्लङ्घनको गम्भीरता हेरेर सचेत गराउने, जरिवाना गर्ने र उम्मेदवारी नै खारेज गर्नेसम्मको कानुनी व्यवस्था रहेको जानकारी दिए।
यस्तै, दल र उम्मेदवारले तोकिएको मापदण्डमा रहेर पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापन गरी प्रचार गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवार आफैँले वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने नियम बनाइएको छ।
निर्वाचनको समयमा कुनै पनि उम्मेदवार विरुद्ध सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना फैलाउन, दुष्प्रचार गर्न वा द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने कुरालाई आयोगले विशेष प्राथमिकतामा राखेको छ। राजनीतिक स्वार्थका लागि फैलाइने यस्ता भ्रामक सूचनामाथि आयोगले कडा निगरानी राख्ने उनले बताए।