arrow

पर्साको चुनावी माहोलः एमालेमा नवप्रवेशीको हालीमुहाली, कांग्रेस इतिहास दोहोर्‍याउने दाउमा

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८२ फागुन ९ शनिबार
dipendra-chauhan-09-11-082.jpg.jpeg

आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परम्परागत कम्युनिस्ट सिद्धान्तवादी कार्यकर्ताभन्दा नवप्रवेशी र अवसरको खोजीमा आएका अनुहारलाई बढी प्राथमिकता दिएको देखिन्छ । स्वास्थ्य अवस्थाका कारण राजधानी काठमाडौँ र गृह जिल्ला झापा बाहेकका क्षेत्रमा भौतिक रूपमा सक्रिय हुन नसकेका ओलीले आफ्नो प्रचार र उम्मेदवार छनोट रणनीतिमा व्यापक बदलाव ल्याएका छन् । 

बदलिँदो राजनीतिक परिवेश र मतदाताको मनोविज्ञानलाई मध्यनजर गर्दै उनले पार्टीको पुरानो संगठनात्मक संरचना र अनुभवभन्दा पनि नयाँ समूहको प्रवेशलाई चुनावी ऊर्जा बनाउने दाउ हेरेका छन् । हालैको 'जेन-जी' आन्दोलनपछि समय अगावै महाधिवेशन गरेर पार्टीभित्र आफ्नो पकड मजबुत बनाएका ओलीले चुनावपछि एमाले नै देशको सबैभन्दा ठूलो दल बन्ने दाबी गर्दै आएका छन् ।

यद्यपि लामो राजनीतिक संघर्ष र लोकतान्त्रिक अभ्यासमार्फत वामपन्थी आन्दोलनलाई सशक्त बनाएको एमालेभित्र नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदो छ । विगतमा पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरू अलग हुँदा पर्सा जिल्लामा पार्टीलाई ठूलो क्षति पुगेको थियो । 

बाँकी रहेका पुराना र निष्ठावान कार्यकर्ताहरूले आफूलाई नेतृत्वले बेवास्ता गरेको र नवप्रवेशीलाई मात्र काखी च्यापेको महसुस गर्न थालेका छन्। यही असन्तुष्टिबीच एक पूर्व केन्द्रीय सदस्य बसरुद्धिन अन्सारी विद्रोह गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेपछि पर्सा क्षेत्र नम्बर १ र २ मा एमालेलाई थप धक्का लागेको  छ। 

बाहिरिया मोहका कारण पुराना नेताहरू 'घर न घाटको' अवस्थामा पुगेपछि यस पटक पर्सामा एमालेका लागि चुनाव फलामको च्यूरा चपाउनु सरह हुने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

पर्सा जिल्लाका चार ओटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि उम्मेदवार छनोटको मापदण्डमा भने यी दुई दलबीच आकाश-पातालको फरक छ। नेपाली कांग्रेसले लामो समयदेखि पार्टीमा योगदान दिएका र वैचारिक रूपमा प्रतिबद्ध नेताहरूलाई चुनावी मैदानमा उतारेको छ भने एमालेले अन्तिम समयमा अन्य दलबाट आएका र राजनीतिक पृष्ठभूमि नै नभएका व्यक्तिहरूलाई टिकट थमाएको छ। 

पर्सा क्षेत्र नम्बर १ मा कांग्रेसले नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरी केन्द्रीय सदस्यसम्म बनेका अनिल रुङ्गटालाई उम्मेदवार बनाएको छ। ०७४ मा उम्मेदवार बनेका र ०७९ मा गठबन्धनका कारण टिकट नपाएका रुङ्गटा यस पटक बलिया दाबेदार हुन् । 

एमालेले भने मनोनयनको २४ घण्टाअघिसम्म जसपा नेपालमा रहेका प्रदीप यादवलाई रातारात पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ। मधेस आन्दोलन र नाकाबन्दीका बेला ओलीका कट्टर आलोचक मानिने यादवले एमालेको टिकट लिएर पनि पुरानै पार्टीको चुनाव चिह्नबाट लड्ने इच्छा देखाएको चर्चाले उनीमाथि अवसरवादको आरोप लागेको छ।

अन्य क्षेत्रहरूमा पनि अवस्था उस्तै छ । पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसले तीन दशकदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका र मधेस वादी नेताको रूपमा चिनिएका अजय चौरसियालाई मैदानमा उतारेको छ। तर एमालेले भने राजनीतिक पृष्ठभूमि नै नभएकी रिमा यादवलाई टिकट दिएको छ। लामो इतिहास भएका महिला नेतृहरूलाई पाखा लगाउँदै पूर्व मेयर विजय सरावगीको समर्थनमा उनलाई 'जेन-जी' उम्मेदवारको रूपमा प्रचार गरिएको छ । 

त्यसैगरी क्षेत्र नम्बर ३ मा कांग्रेसले पार्टीका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा कांग्रेसी नेता सुरेन्द्रप्रसाद चौधरीलाई टिकट दिएको छ । यसको प्रतिवादमा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि अन्तिम समयमा एमालेको शरणमा पुगेका पूर्व कांग्रेसी रुपेश पाण्डेयलाई उम्मेदवार बनाएको छ। शुरूमा प्रमोद जयसवाललाई टिकट दिइए पनि उनले प्रदेश सभाको पद जाने डरले पछि हटेपछि रातारात पाण्डेयले अवसर पाएका हुन् ।

पर्सा क्षेत्र नम्बर ४ को परिदृश्यले पनि एमालेको नवप्रवेशी मोहलाई नै पुष्टि गर्छ। कांग्रेसले विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय पूर्व मन्त्री तथा पुराना नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ भने एमालेले जालिम मियाँ मन्सुरीलाई अघि सारेको छ। पञ्चायतकालमा वन तस्करीको आरोपमा जेल सजाय भोगेका र लामो समय कांग्रेस र माओवादी हुँदै अघिल्लो चुनावमा मात्रै एमाले प्रवेश गरेका मन्सुरी अन्य क्षेत्रका एमाले उम्मेदवारभन्दा तुलनात्मक रूपमा पुराना भए पनि पार्टीका आधारभूत 'क्याडर' भने होइनन् । 

२००६ सालमा स्थापना भएको र 'जनताको बहुदलीय जनवाद' मार्फत २०५१ सालमै लोकप्रिय सरकार चलाएको एमाले जस्तो ऐतिहासिक पार्टीले पर्साका चारवटै क्षेत्रमा एक जना पनि आफ्ना पुराना र निष्ठावान कार्यकर्तालाई उम्मेदवार बनाउन नसक्नुले पार्टीभित्र गम्भीर वैचारिक र साङ्गठनिक विचलनको संकेत गरेको छ। 

आफ्नै नेतृत्वको सरकार हुँदा बढेको जनआक्रोश र 'जेन-जी' आन्दोलनको रापताप शान्त नहुँदै गरिएको यो उम्मेदवार छनोटले एमालेको आगामी संसदीय हैसियतलाई लिएर पार्टी पङ्क्तिभित्रै गम्भीर संशय पैदा गरेको छ।  

नवआगन्तुकलाई टिकट र पुरानालाई झोले बनाइएकोमा नेकपा पर्सामा ब्यापक असन्तुष्टि चुलिएको छ। नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरू भने हौसिएका छन् । २०४८ सालमा पर्साको चार ओटै क्षेत्रमा कब्जामा लिएको जस्तो यस पटक चुनावको दिनसम्म अन्तर्घात नभए चार ओटै क्षेत्रमा विजय पताका फहराउने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ