विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ : भुसाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
601
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले अहिलेको निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट उत्पन्न असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताएका छन्।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकले हालै भोगेका विध्वंशकारी घटनाबाट गम्भीर राष्ट्रिय शिक्षा लिनुपर्ने बेला भए पनि त्यसतर्फ ध्यान नदिई निर्वाचनतर्फ मात्रै उन्मुख हुनु समस्या लुकाउने प्रयास भएको टिप्पणी गरे ।
भुसालले प्रमुख राजनीतिक नेतृत्वको आलोचना गर्दै केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललगायतका नेताहरूका राजनीतिक तथा आर्थिक नीतिका कारण देश संकटमा पुगेको दाबी गरे।
यस्ता कमजोरीलाई इतिहासमा स्पष्ट रूपमा स्थापित गरी भविष्यमा दोहोरिन नदिने संकल्प गर्नुपर्ने उनको भनाइ छ।
उनले विध्वंशकारी घटनामा भएका तोडफोड र सार्वभौमसत्तामाथिका आक्रमणबाट शिक्षा नलिए भविष्यमा फेरि यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिए। साथै, यस्ता विषय छोपछाप गरेर निर्वाचनमा जानु लोकतान्त्रिक अभ्यासका लागि पनि गलत सन्देश हुने उनको भनाइ थियो।
भुसालले मुलुक भूराजनीतिक दबाबमा परेको सानो राष्ट्र भएकाले आन्तरिक रूपमा अझ कमजोर बन्दै गएको उल्लेख गरे।
निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिए विकास परनिर्भर हुने, रोजगारी सिर्जना नहुने र विचौलियातन्त्र बलियो हुने खतरा रहेको उनले बताए।
उनले पश्चिमेली मोडेलको अन्धानुकरण नगरी नेपाली परिस्थितिअनुसारको राजनीतिक बाटो खोज्नुपर्नेमा जोड दिँदै परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलियातन्त्र मुलुकका मूल समस्या भएको धारणा राखे।
निर्वाचनलाई अवसरका रूपमा लिन सकिने भए पनि यसले मात्र राष्ट्रिय संकटको निकास नदिने भन्दै गहिरो पुनर्विचार आवश्यक रहेको उनको निष्कर्ष थियो।