arrow

सबै क्षेत्रमा पुग्यो मतपत्र : निर्वाचन आयोग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
baburam-koirala-14-11.jpg

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिए । 

उनका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड आठ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो । 

सबै मतपत्र एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पुर्याइसकिएको उनले बताए । 

उनका अनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ शुरू गरेको थियो ।

कर्णाली, सुदूरपश्चिम, कोशी, लुम्बिनी, गण्डकी, मधेस र बागमती प्रदेशमा मतपत्र ढुवानी गरिएको उनले जानकारी दिए ।

२०८२ पुस २२ गतेबाट मतपत्र छपाई कार्य शुरू गरी फागुन ५ गते छपाई सम्पन्न गरिएको आयोगले जनाएको छ । 

उनले भने, ‘२०८२ पुस २२ गतेबाट मतपत्र छपाई शुरू गरी २०८२ फागुन ५ गते निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतपत्र छपाई सम्पन्न गरियो। २०८२ माघ २९ गतेबाट मतपत्र ढुवानी हवाई तथा स्थलमार्गबाट शुरू गरी कर्णाली, सुदूरपश्चिम, कोशी, लुम्बिनी, गण्डकी, मधेस र बागमती गरी सबै प्रदेशमा निर्वाचन आयोगको कार्ययोजना अनुसार ढुवानी कार्यसम्पन्न गरिएको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार र प्रत्यक्षतर्फको मतपत्र दुई करोड तीन लाख २३ हजार गरी जम्मा चार करोड ११ लाख ५३ हजार मतपत्र ढुवानी गरी एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा पुर्याइसकिएको छ ।’ 

आयोगले १० लाख ९८ हजार दुई सय नमूना मतपत्रको छपाई गरी मतदाता शिक्षाको लागि सबै निर्वाचन क्षेत्रमा पठाएको पनि जानकारी दिएको छ । 

आयोगले निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र तथा नमूना मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाई गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ