arrow

परिवर्तनका पहरेदार अजयबाबु शिवाकोटी, दोलखाबाट संसद यात्रामा पाइला चाल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
ajayababu-shiwakoti-nc-candidate-dolakha.jpg

दोलखा । अजयबाबु शिवाकोटी परिवर्तनका पहरेदार हुन् । नयाँ सोचका खानी हुन् । जसले समय सापेक्ष अगाडि बढ्न मद्धत गर्छ । त्यही सोचले उनी जुन क्षेत्रमा लाग्छन् त्यसलाई सफल बनाएरै छाड्छ्न् । त्यसको प्रमुख कारण हो उनको पेशा प्रतिको लगाब । चार वर्षअघि पूर्णकालीन राजनीतिमा होमिएका अजयबाबु अहिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका नेपाली कांग्रेसका उम्मेदवार हुन् । उनी आफ्नै जन्मस्थान दोलखा जिल्लाका उम्मेदवार बनेका हुन् । 

राजनीतिका स्पष्ट वक्ता

अजयबाबु कलमको तागतले जितेका नेता हुन् । पूर्णकालीन राजनीतिमा आउनुअघि उनी पत्रकारिताका माध्यमबाट आफ्नो भूमिकालाई सशक्त पार्दै आएका थिए । त्यसको फलस्वरूप नीति निर्माणको तहमा आएमात्रै परिवर्तन सम्भव छ भन्ने देखेर उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता बने । पार्टीको १४ औँ महाधिवेशनबाट २०७८ साल मंसिरमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको राजनीतिले सशक्त गति लियो । उनी पहिलो पाइलामै सफलता हासिल गर्न सफल भए । उनको स्पष्ट बोलीको प्रभाव तत्कालै पर्यो । 

कांग्रेसलाई हार्ने छुट छैन भन्दै होमिए निर्वाचनमा

उनी चार वर्षको दौरान पार्टीलाई सशक्त बनाउन लागिपरे । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जनताको बीचमा पुगे । कांग्रेसको स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि गरिएको अभियानमा उनी निरन्तर खटाइएको जिल्ला मुस्ताङमा पुगेर पार्टीको प्रचारप्रसार र प्रशिक्षण दिन व्यस्त रहे । 

कांग्रेसलाई हार्ने छुट छैन भन्दै उनले जिल्ला जिल्लामा पुगेर जितको रणनीति बनाउन लागिपरे । कांग्रेसलाई ०७९ को चुनाव जित्न सजिलो थिएन । किनकि कम्युनिष्टले कांग्रेसका एजेन्डाको भ्रम छर्न र उत्तेजना फैलाउन भरमग्दूर प्रयास गरेका थिए । त्यसलाई पनि रणनीतिक तरिकाले उनी जहाँ पुगे त्यहाँ वास्तविकता बताएर आफ्नो पक्षमा पार्न सफल भए । 

कांग्रेसले जित्नु नै देशले देशले जित्नु भएको बताउँदै अजयबाबुले कांग्रेसले नेपाली राजनीतिमा खेलेको भूमिका बुझाउँदै हिँडे । साथै संचारमाध्यमले सत्यतथ्य कुरा बाहिर ल्याएर सघाउनु पर्नेमासमेत उनले जोड दिँदै संचारकर्मीको मनोबल उच्च बढाउने काम गरे । 

अजयबाबुजस्ता परिवर्तनकारी युवा नेताहरूकै कारण कांग्रेस ०७९ को प्रतिनिधि सभा निर्वाचनमा पहिलो दल बन्न सफल भयो । समुदायमा कांग्रेस अभियानकै कारण यो सम्भव भयो । अजयबाबुले राजनीतिमा सहमति अहम् हुने भन्दै तत्कालीन अवस्थामा दलीय सहमति अनुसार भएको चुनावी अभियानलाई स्वीकार्नु पर्नेमासमेत जोड दिए । जसको परिणाम कां‌ग्रेस दलहरूका बीचमासमेत इमानको राजनीति गर्ने पार्टी बन्यो ।

अजयबाबुले पार्टीले बाटो बिराउँदा आक्रामक शैलीले 'कांग्रेस फाली निस्केको हलो जस्तै भएको' भन्दै सही मार्गमा ल्याउन प्रयास गरे । उनले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर रुपान्तरणमा होमिनसमेत युवालाई आह्वान गर्दै आए । यो भनाइ जेन-जी युवामा अझ बढी लागू हुन्छ । उनी लामो समयदेखि पार्टीले जेन-जीलाई समेटेर उनीहरूको भावना बुझ्न आग्रह गर्दै आएका नेता हुन् । 

अरुले बाटो बिराउँदा खबरदारी गर्दै आए । चाहे अन्य दलहरूबीचको अवैध साँठगाँठ वा सरकारको नियन्त्रणमुखी नीति किन नहोस् उनले सदैव औँला ठड्याइरहेका छन् । पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी उनले पूरा गर्दै आए । कांग्रेस सधैँ बैशाखी टेक्ने होइन टेको बिना खडा हुने पार्टी बनाउनु छ भन्ने सिद्धान्त नेता कार्यकर्तामा छर्दै गए । 

उनले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख भएर महत्वपूर्ण काम गरे । पार्टी आफैँ इतिहास भए पनि दस्तावेज जरूरी छन् भन्दै पुस्तकालयमा महत्वपूर्ण पुस्तकहरू संकलन गरे । विभागमा थप सदस्यहरू जोडेर सशक्त्त पारे । फोरम चलाए । दुर्भाग्य उनले गरेको मेहनतमा जेन-जी आन्दोलनका नाममा भएको घुसपैठमा पार्टी कार्यालय जलाइयो । जसमा ती महत्वपूर्ण कागजात जले । दस्तावेज जले । अनि प्रजातन्त्र सेनानी थुप्रैका कथा जले । लेखिन बाँकी कहानी जले । यद्यपि उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी जस्ता प्रजातन्त्र सेनानीको संघर्षलाई जसरी पुस्तकमा निकालेर दुनियाँलाई चिनाएका छन् त्यसरी नै बाँकी सेनानीको कथा समेट्ने उनको अभियान रोकिएको छैन ।  

सभापति गगनकुमार थापाको विचारसँग जोडिएका उनीजस्तै युवा नेताहरूकै कारण आज कांग्रेस परिवर्तनको मार्गमा हिँड्न सफल भएको छ । पार्टी नेतृत्वले बाटो बिराउँदा जहिले पनि प्रश्न तेर्स्याउने उनीजस्ता युवाहरूकै कारण दोस्रो ऐतिहासिक विशेष महाधिवेशन सम्भव भयो । तबमात्र कांग्रेस जेन-जी आन्दोलनपछिको परिस्थितिलाई आँकलन गर्दै फागुन २१ को निर्वाचनको नेतृत्व गर्ने स्थानमा पुग्यो । 

पत्रकार छँदा पनि रगतमा राजनीति

हजुरबुबा नेपाली कांग्रेसका योद्धा । सँगसँगै त्यागी पनि । पद कि शिक्षा भनी रोज्न लगाउँदा शिक्षा ठूलो भनेर दोलखामा विद्यालय खोलेका नन्दप्रसादको त्यो विचार परिवारमै क्रमैसँग पुस्तान्तरण हुनु नौलो हैन । अझ अजयबाबु त विद्यालय उमेरदेखि नै विचारमा अडिक । साथै क्याम्पसमा पनि उनी आफ्नो सिद्धान्तमा कहिल्यै डगमगाएनन् । साथै उनले दुई दशकभन्दा बढी समय बिताएको पत्रकारिता पेशामा पनि उत्तिकै सशक्त रहे । पच्चीस वर्षअघि उनले थालेको संचार कर्म उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता हुने बेलासम्म चलिरह्यो । 

विद्यार्थी, सामाजिक अभियन्ता र जुझारू पत्रकारको नाताले उनी बहुदलदेखिका हरेर परिवर्तनका आन्दोलनमा आफ्नो भूमिका सशक्त पार्न सफल भए । सशस्त्र द्वन्द्वदेखि शाहीकालको त्यो धर्मराएको पत्रकारितामा साहसिक पत्रकारिताको प्रदर्शन गरे । रेडियो नेपालको घटना र विचार होस् वा ईमेज च्यानल होस् । नेपाल वान होस् वा ईमेज एफएम अनि आफैँ प्रधानसम्पादक भएको हाम्राकुरा डटकम किन नहोस् उनी पत्रकारिताको धर्ममा कहीँ चुकेनन् । बस् दुःख पाए त प्रश्न गर्दा । बस् पक्राउ पर्नु पर्यो त न्याय माग्दा । ०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । त्यतिमात्र हैन लोकतन्त्रका लागि र प्रेस स्वतन्त्रताका लागि घन्किने नाराहरुमा उनको स्वर चर्को बनेर दरबारसम्म पुग्न खोज्थ्यो ।

त्यही प्रतिफलले उनले पत्रकारिता विषयमै स्नातकोत्तर गरे । हाम्राकुरा डटकमको संस्थापक निर्देशक तथा संस्थापक प्रधानसम्पादक भए । १२ वर्ष उक्त जिम्मेवारीमा रहने क्रममा उनले विभिन्न विकृति, विसंगति र भ्रष्टाचारका विषयमा कलम चलाए । नीति निर्माताहरूलाई बाटो देखाउने काम गरे । उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिवसमेत भए । यत्तिलेमात्र पत्रकारितालाई जोगाउन सकिनेमा उनी विश्वस्त भएनन् तब त मेन स्ट्रिमको राजनीतिमै होमिए । उनले गरेका रिपोर्टिङबाट समाजमा ब्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ। ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा ब्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै एमालेका नेता गोकुल बास्कोटा संचार मन्त्री रहेका बेलामा उनले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बास्कोटाले पनि पद छाड्नु परेको थियो । उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् । 

बोलीका पक्का उनले भनेका थिए - राजनीतिमा लागेपछि पत्रकारिताको रिपोर्टिङमा उत्रन्न । जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका अजयबाबुले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू संचार उद्यमीका रुपमा भने रहिरहने बताउँदै आएका छन् । उनले पत्रकारिता सधै जीवित र निर्भिक हुनुपर्ने बताउँदै आइरहेका छन् । 

सँगसँगै समाजसेवा पनि

अजयबाबु समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले विभिन्न समयमा गर्ने सहयोग त्यसका उदाहरण हुन् । पत्रकारलाई पर्ने मर्कामा अग्रस्थानमा रहेर त्यसको विरोध गर्छन् भने आपतविपदमा सघाउँछन् । 

उनी समाजको जुनसुकै तहमा पुगेर पनि श्रमदानसमेत गर्न पछि पर्दैनन् । २०८० सालमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट पीडित बनेका कर्णालीवासीको घाउमा मल्हम लगाए । भूकम्प प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास बनाएर हस्तान्तरण गरे । सो क्रममा उनी १० दिन स्वयं खटिएका थिए । 

पत्रकारितामा सक्रिय रहँदा पुरस्कारबाट सम्मान

उनले गरेको पत्रकारिता कत्तिको सशक्त थियो भन्ने उदाहरण उनले पाएका सम्मानबाटसमेत स्पष्टै हुन्छ । उनी नेपाल सरकारबाट प्रबल जनसेवाश्रीबाट विभूषित भए । उनी ईन्जा अवार्ड, रोटरी जर्नो अवार्ड, देश तीर्थ पत्रकारिता पुरस्कार लगायतबाटसमेत पुरस्कृत भए । 

जसरी पत्रकारिता गर्दा थुप्रै सम्मानसहित पुरस्कार थापे, जसरी सशक्त पत्रकारिताकै माध्यमबाट प्रवल जनसेवाश्री पुरस्कार पाए त्यसरी नै पार्टी राजनीतिमा पनि अब्बल नेता बनेर जनसेवामा जुट्न उनी निरन्तर जनताकै वरिपरि रहन्छन् । 

चुनाव जित्न कोही विपक्षीका कमीकमजोरी कोट्याउँछन् उनी भने कर्म गरिरहन्छन् । सत्कर्मले गरेको जुनसुकै काम पूर्ण हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ