arrow

निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
ramprasad-bhandari-19.jpg

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको नवयुवाको विद्रोहपछि बनेको विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन लागेको उनले बताए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले बताए ।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाका आधारमा सञ्चालन हुने वातावरण बनाउन आयोग दृढ रहेको उनले स्पष्ट पारे ।

मतदान मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो प्रक्रिया भएको बताए।

मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्च अभिव्यक्तिका रूपमा लिइने उनले बताए । सुसूचित मतदानले शासनप्रति नागरिकको अपनत्व बढाउने उनले बताए।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि बनेको विषम अवस्थामा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउने विश्वास लिएको छु । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भइसकेको छ । निर्वाचनमा मतदाता र मतदान सबैभन्दा महत्वपूर्ण हुन्छ । कुनै उम्मेदवार वा पक्षलाई मतदाताले दिने स्वीकृति नै मतदान हो । संविधान र कानुनअनुसार निश्चित उमेर पुगेका नागरिक मतदाता हुन्छन् र सबै मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदान मतदाताको नैसर्गिक अधिकार हो । एक-एक मतले शासन, सरकार, नीति र नेतृत्व निर्धारण गर्ने भएकाले लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण हुन्छ । यसमा सहभागी भएर सबै मतदाताले आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास लिएको छु । यो प्रक्रिया हरेक मतदाताको कर्तव्य पनि हो । नागरिक सचेत र जागरुक भएर मतदानमा सहभागी भए मात्र शासनप्रति अपनत्व बढ्छ । आयोग निर्वाचनलाई अवाञ्छित गतिविधिबाट मुक्त राख्न प्रतिबद्ध छ र सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दछ ।’

निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेद्वार, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा र हौसला मिलेको उनले बताए।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधार निर्वाचन नै भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने अधिकारलाई निर्वाचनले वैधता दिने भएकाले बिहीबार आआफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न उनले पुनः आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ