लुम्बिनी । दाङको क्षेत्र नं ३ स्थित बबई गाउँपालिका वडा न-७ का स्थानीयहरुले मतदान बहिष्कार गरेका छन् । बाँके-पश्चिम दाङको सीमा क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबासीहरू देउती मावि मलई मतदान केन्द्रमा मतदान गर्न नगएको प्रदेश निर्वाचन कार्यालय दाङका नायव सुब्बा भुवनेश्वर अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार सोही पालिकाको वडा नं १ जिल्लाका स्थानीयले पनि जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मात्र १० जनाले मतदान गरेको जनाएका छन् । प्रत्यक्षमा १० मत र समानुपातिकमा निर्वाचनमा खटिएका प्रहरी र कर्मचारीले हालेको १६ मत खसेको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रभावित स्थानीयहरुले जंगली जनावरका कारण मानवीय र भौतिक क्षति बेहोर्दै आएकाले सो विषयमा स्थानीय एवं संघीय नेताहरुलाई ध्यानाकर्षण गराउँदासमेत कुनै चासो नदेखाएको भन्दै मतदान गर्न नगएको बताइएको छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसबाट पूर्वमन्त्री दीपक गिरी, नेकपाबाट लुम्बिनी प्रदेशका पूर्वमन्त्री धनबहादुर मास्की र नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे प्रतिष्पर्धामा छन् ।
चुनाव आउनुभन्दा एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका स्थानीयहरु आफ्नो गुनासो राज्य पक्षबाट सुनवाई नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारु मगरले बताएका छन् ।
५ सय ३० जना मतदाता रहेको ठाउँमा निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित सबै व्यवस्था मिलाइएको थियो । मतदानमा खटिएका कर्मचारीहरू बिहान ७ बजेबाट तयारी अवस्थामा बसेका थिए तर पनि मतदान गर्न मतदाता उपस्थित नभएपछि त्यहाँको मतदान प्रक्रिया प्रभावित भएको देउती मावि मलईका मतदान अधिकृत टेकबहादुर खड्काले जनाएका छन् ।