बाँके अपडेट: दुई क्षेत्रमा रास्वपा र एक क्षेत्रमा एमालेको अग्रता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
564
Shares
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार अगाडि छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँके क्षेत्र नम्बर १ मा १० हजार ६३५ मत गणना गर्दा रास्वपाका सुरेश थारूले ५ हजार ८५७ मतका साथ ठूलो अन्तरले अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नारायण गौडेलले २ हजार ४५, एमालेका सूर्य ढकालले १ हजार २७८ र नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डेले ६२३ मत प्राप्त गरेका छन्।
बाँके क्षेत्र नम्बर २ मा हालसम्मको परिणामअनुसार एमालेका मोहम्मद इस्तियाक राई ५ हजार २४४ मतका साथ अगाडि छन्। उनलाई नेपाली कांग्रेसका सुधांशु कोइरालाले ४ हजार १०० मतले पछ्याइरहेका छन् भने रास्वपाका विवेक श्रेष्ठले २ हजार ५८० मत पाएका छन्।
यसैगरी, बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार ५ हजार २९७ मतका साथ अग्रस्थानमा छन्। यहाँ एमालेका सुमन मल्लले २ हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले १ हजार ७४१ मत प्राप्त गरेका छन्। अहिले तीनवटै क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।