लमजुङमा कांग्रेसको शुरुआती अग्रता, पृथ्वी सुब्बा र धर्मराज पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
677
Shares
काठमाडौँ । एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार शुरुआती गणनामा कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले आफ्ना प्रतिस्पर्धीहरूलाई सामान्य अन्तरले पछि पारेका हुन्।
दूधपोखरी गाउँपालिका–४ का दुई मतदान केन्द्रको ४९५ मत गणना सकिँदाको परिणामअनुसार नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १७७ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङले ११८ र राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ११० मतका साथ पछ्याइरहेका छन्।
यस्तै, नेकपाका उम्मेदवार हरिजङ्ग तामाङले ३४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत पाएका छन्। लमजुङमा कुल १ लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो। जिल्लामा १३० मतदानस्थल र १९२ मतदान केन्द्र रहेका थिए।
विगतको निर्वाचन (२०७९) मा यस क्षेत्रबाट एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए। अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्य क्षेत्रका मतपेटिकाहरू खोल्ने र गणना गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।