एमालेका रबीन्द्रराजलाई हराउँदै कांग्रेसकी बासना विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
806
Shares
दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छिन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत पाएका छन्। थापा र शर्माबीचको मतान्तर ५७६ रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ र नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका रणबहादुर सिंहले ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा (माओवादी) का रामलाल विश्वकर्माले २३५ र राजमोका नरबहादुर सिंहले ९१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीकी मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल ७९ हजार ७०१ मतदाता रहेका थिए।
यसैगरी दैलेख क्षेत्र नम्बर २ मा पनि मतगणना जारी रहेको छ। निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार सो क्षेत्रमा नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेलले सुरुवाती अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले पछ्याइरहेका छन्। क्षेत्र नम्बर २ को गणना तीव्र गतिमा अघि बढिरहेकाले आज साँझसम्म अन्तिम नतिजा आउने अनुमान गरिएको छ।