अछाम १ मा भीम रावल पराजित, कांग्रेसका भरत स्वाँर विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1k
Shares
काठमाडौँ । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँर निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावललाई ५२६ मतान्तरले पराजित गरेका छन्।
एमालेसँगको लामो आबद्धता तोडेर नयाँ शक्ति (नेपाली कम्युनिस्ट पार्टी) मार्फत चुनावी मैदानमा उत्रिएका भीम रावलले १० हजार २३३ मत प्राप्त गरे। अछाममा लामो समयदेखि पकड जमाउँदै आएका रावलको यो हारलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस्तै, नेकपा (एमाले) का उम्मेदवार दीपकबहादुर साउँदले ७ हजार ३८९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरेका छन्।
भरत स्वाँर यसअघि २०७४ को निर्वाचनमा भीम रावलसँगै पराजित भएका थिए। यसपटक रावललाई उनकै पूर्व 'गढ' मा रोकेर स्वाँरले पुरानो हारको बदला समेत लिएका छन्। यो जितसँगै अछाम १ मा कांग्रेसको झण्डा फहराइएको छ भने भीम रावलको संसदीय यात्रामा पूर्णविराम लागेको छ।