काठमाडौँ। काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३५ हजार ४७६ को विशाल मतान्तरले पराजित गरेका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अशोककुमार ब्याञ्जुले १३ हजार ९४० मत पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईले ८ हजार १०७ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैँजुले ३ हजार ७४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले १ हजार १२५ मत पाएका छन्।
नेपाल मजदुर किसान पार्टीकी मुना तामाङले ४२८ र श्रम संस्कृति पार्टीका टङ्कबहादुर लामाले ४०० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र ८ गरी जम्मा २४ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए। एमालेको बलियो पकड मानिने काभ्रे २ मा रास्वपाका युवा उम्मेदवार भण्डारीको यो जितले जिल्लाको राजनीतिमा नयाँ फेरबदल ल्याएको छ। अहिले धुलिखेल र आसपासका क्षेत्रमा 'घण्टी' बजाउँदै खुसियाली मनाइरहेका समर्थकहरूको ठूलो भीड देखिएको छ।