काठमाडौँ। सल्यान निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दलाई २ हजार २८५ मतान्तरले पराजित गरेका छन्।
रास्वपाका ललितबहादुर चन्दले २० हजार ९०४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले १७ हजार ५५८ मत पाएका छन्। यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन्। सल्यानमा कुल १ लाख ६२ हजार ४४४ मतदाता रहेकामा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी १४ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए।
देशभर रास्वपाको लहर चलिरहेका बेला सल्यानमा भने नेपाली कम्युनिस्ट पार्टीका मल्लले आफ्नो पकड जोगाउन सफल भएका छन्। यो जितसँगै कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले अर्को एउटा सिट सुरक्षित गरेको छ। अहिले सल्यानका विभिन्न स्थानमा विजयी उम्मेदवार मल्लका समर्थकहरूले खुसियाली मनाइरहेका छन्।