काठमाडौँ। उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा निर्वाचित भएका छन्। केहीबेरअघि सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामाले १४ हजार ८०२ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीलाई ७ हजार १५४ मतान्तरले पराजित गरेका छन्।
एमालेका रायमाझीले ७ हजार ६४८ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१० मत, नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ५ हजार १९७ मत र श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत पाएका छन्।
रास्वपाको जिल्ला सचिव समेत रहेका ४१ वर्षीय लामा कटारी–७ मर्जेतपुरका बासिन्दा हुन्। पर्यटन विकास अभियन्ताका रूपमा परिचित उनी २०७९ असोजदेखि रास्वपामा सक्रिय रहँदै आएका थिए। पहिलो पटक चुनावी मैदानमा उत्रिएका लामाले स्थापित दलका उम्मेदवारहरूलाई भारी मतान्तरले पछाडि पार्दै उदयपुरमा 'घण्टी' को प्रभावशाली उपस्थिति देखाएका छन्।