धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे ।
उनले धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर पार्टी खोलेर संघीय संसदको चुनावमा होमिएका हुन् ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेका टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरे ।
कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत ल्याए । यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो ।