arrow

चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६१ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । 

यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । 

चार निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन बाँकी रहेको छ । जसमा एउटा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक गर्न रोक लगाइएको छ भने एकमा रास्वपा, एकमा कांग्रेस र एकमा एमाले अगाडि छ ।

धनुषा १ 

धनुषा १ मा निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उम्मेदवारी खारेज भएका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजको रिटमा आज पेसी तोकिएको छ ।

उनको उम्मेदवारी खारेज भए पनि अन्तिम समयमा गरिएको उम्मेदवारी खारेजीका कारण उनले सबैभन्दा धेरै मत ल्याएका छन् । कमलले उम्मेद्वारी खारेज रहेको अवस्थामा २० हजार भन्दा बढी मत प्राप्त गरेका छन् ।

साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो । 

मतपत्र छपाइ भइसकेकाले उनको उम्मेद्वारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।

उम्मेद्वारी खारेज भए पनि धेरै मत परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै मतगणनाको परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । योसंगै उक्त क्षेत्रको मतगणना अन्योलमा परेको छ ।

रास्वपा पछि उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले अन्तिम मतगणना सार्वजनिक भए अनुसार सात हजार ५६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामपल्टन साह सात हजार ४२८ प्राप्त गरेका छन् ।

गोरखा १

गोरखा १ मा रास्वपाका सुधन गुरुङले अग्रता लिइरहेका छन् । गुरुङले २१ हजार ५५० मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानका कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६०० मत ल्याएका छन् । तेस्रो स्थानका नेकपा उम्मेदवार हरिराज अधिकारीले ८ हजार १६८ मत ल्याएका छन् । 

इलाम १

कांग्रेस एक स्थानमा अगाडि रहेको छ । इलाम १ मा कांग्रेस अगाडि रहेको छ । कांग्रेसका निश्कल राईले ११ हजार ८६१ मत ल्याएका छन् । 

दोस्रोमा रहेका श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले ११ हजार ४८८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानका एमाले उम्मेदवार काजीमान कागतेले १० हजार ७६२ मत ल्याएका छन् । 

संखुवासभा 

एमाले एक स्थानमा अगाडि रहेको छ । संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले १० हजार ९९७ मत पाएका छन् । रास्वपाका मिङमा शेर्पाले १० हजार ५०५ मत प्राप्त गरेका छन् । कांग्रेसका दिपेनकुमार श्रेष्ठले ८ जार ३०७ मत ल्याएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ