एक सय ६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई १२५, कांग्रेसलाई १८ सिट
एमाले ८, नेकपा ७, श्रम संस्कृति ३, राप्रपा र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
1.3k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६३ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५, नेपाली कांग्रेस १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् ।
यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
मतगणना जारी रहेको १ स्थानमा एमाले अगाडि छ । सङ्खुवासभामा मत गणना जारी छ । मत गणनाका क्रममा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले १२ हजार ७६२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले ११ हजार ४४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले १० हजार ४४६, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले आठ हजार ५५४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापाले दुई हजार ५७१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनुषा १ को मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले रोकेको छ ।