वायु प्रदूषणले खतराको तह पार गरेपछि स्वास्थ्य मन्त्रालयको अपील
'अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनुस्'
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
669
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको तह अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौँ, पोखरा र विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा चिन्ताजनक रूपमा बढेको पाइएको छ। श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म कणहरूले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीहरूले थप सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।
प्रवक्ता डा. बुढाथोकीले प्रदूषणका कारण सामान्य आँखा दुख्ने र पाक्ने समस्यादेखि लिएर मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लाग्न सक्ने तथा दीर्घकालमा क्यान्सरसमेत गराउन सक्ने चेतावनी दिएका छन्। प्रदूषणको प्रत्यक्ष असरबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ।
बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा निस्कनु स्वास्थ्यका लागि झन् हानिकारक हुने मन्त्रालयको ठहर छ। बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा गुणस्तरीय मास्क र आँखा जोगाउन चस्मा प्रयोग गर्न तथा छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा र टोपी लगाउन मन्त्रालयले नागरिकहरूलाई सुझाएको छ।
वायु प्रदूषण न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग पनि समन्वय र पैरवी गरिरहेको जनाएको छ। प्रवक्ता बुढाथोकीका अनुसार उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन र वातावरण मन्त्रालयसँग प्रदूषण कम गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ।
सवारी साधनको धुवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पूर्ण रूपमा निर्मूल नहुने भन्दै मन्त्रालयले यस्ता कार्य रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ। तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न आफ्नो शरीरलाई सुरक्षित राख्नु नै सबैभन्दा उत्तम विकल्प भएको मन्त्रालयले स्पष्ट पारेको छ।